आइतवार, श्रावण २४ गते २०८३

ललितानिवास प्रकरण: विजय गच्छदारसहित ३ पूर्वमन्त्री र एक राज्यमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

सोमवार , श्रावण २२, २०८०

काठमाडौं। बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजयकुमार गच्छदारसहित तीन पूर्वमन्त्री र एक राज्यमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधानमन्त्री एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार,पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र राज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध पक्राउ पुर्जी जारी गरेकाे हाे।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पनि गच्छदार, जोशी र श्रेष्ठ प्रतिवादी थिए । सीआईबीले यसअघि यो प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पुर्जी लिइसकेको छ ।

ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तीमध्ये एक पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त समेत रहेका दीप बस्न्यात फरार छन् ।

११२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा चार वटा मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । ११२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना भएको मुद्दा नम्बर २४ मा २०९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा २०४९ देखि २०६९ सम्मका विभिन्न निर्णयबाट बढी सरकारी जग्गा व्यक्तिका नाममा पुगेको घटनामा ब्यूरोले बिस्तृत अनुसन्धान गरिरहेको हो ।

ब्यूरोले घटनाका २० आरोपीलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । यस्तै आइतबार नै सर्वोच्चले मुख्य निर्णयकर्तालाई समेत अनुसन्धानमा ल्याउन बाटो खुलागरेपछि सुरुवातमा यी चार बिरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।

यसअघि नेता गच्छदार बिरुद्ध ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गरेको मुद्दामा १० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

२०७६ माघ २२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार