आइतवार, श्रावण २४ गते २०८३

गिरीबन्धु जग्गा घोटाला प्रकरण- सत्ता र विपक्षीको जुहारी, ओली भन्छन्ः छानविन आवश्यक छैन

बुधवार , भाद्र ६, २०८०

काठमाडौं। झापाको गिरी बन्धु टी स्टेटमा भएको नीतिगत भ्रष्टाचारबारेको छानविनका बिषयमा सत्ता र विपक्षीबिच सवाल-जवाफ चलेको छ । बुधबारको प्रतिनिधिसभाको बैठकमा सत्ता पक्षका सांसदहरुले गिरी बन्धुको जग्गा सट्टा भर्ना दिने गरी भएको नीतिगत निणर्य भ्रष्टाचार भएकाले छानबिन हुनुपर्ने माग गर्दा प्रमुख प्रतिपक्षी एमालेका सांसदहरुले छानबिन गर्न चुनौती दिएका थिए । 

कांग्रेस सांसद रामहरि खतिवडाले गिरीबन्धु टी स्टेटमा ललिता निवास जग्गा काण्डमा भन्दा ठूलो भ्रष्टाचार भएकाले छानबिन हुनुपर्ने बताए। केपी ओली प्रधानमन्त्री भएका बेला २०७८ माघमा गिरी बन्धु टी स्टेटको जग्गा साट्न मिल्ने गरी कानुन संशोधन गरेपछि १९७ विघा जग्गा बेचिएको छ ।

त्यसमा तत्कालीन प्रधानमन्त्री ओलीको स्वार्थ रहेको दाबी गरिँदै आएको छ । खतिवडाले ललिता निवासमा भन्दा ठूलो भ्रष्टाचार गिरीबन्धुमा भएको दाबी गरे। 

खतिवडाले भने, ‘गिरीबन्धु टी स्टेट २५ सय रोपनी जग्गा कौडीको भाउमा दिने काम भएको छ। यसमा सरकारको ध्यान जानुपर्छ। छानबिन हुनुपर्छ। २०११ सालमा उद्योगका लागि राख्न दिने सहमति भएको थियो। २०२९ सालमा पाँच सय विघा भएको हो। जुन कुरा २०७८ माघमा जग्गाको सट्टा भर्ना दिने काम भएको छ। १५७ विघा जग्गा अन्यत्र लगिएको छ। यो ललिता निवासभन्दा ठूलो भ्रष्टाचार हो।’

खतिवडालाई जवाफ फर्काउँदै एमाले सांसद गोकुल बाँसकेटले छानबिन गरेर देखाउन चुनौती दिए। सत्तापक्ष स्टन्टमा मात्रै रमाईरहेको बताउदै बाँस्कोटाले जरासम्म पुगेर छानबिन गर्न चुनौती दिएका हुन्।

केही दिनअघि मात्रै सम्पादकहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरी बन्धुको छानबिन हुन्छ भनेको विषयलाई उल्लेख गर्दै बास्कोटाले सत्तामा हुनेले छानबिन गरेर पाता कसे हुन्छ भन्दै चुनौती दिएका हुन्।

बास्कोटाले भने, ‘जरासम्म पुगेर छानबिन गर्नुहोस्। सत्ता पक्ष स्टन्ट मच्चाइ रहेको छ। पूर्व देखाएर पश्चिम हान्ने काम नहोस्।’

उनले थपे, ‘मूलधारे सम्पादकसँगको मिटिङमा प्रधानमन्त्रीले भन्नुभएछ। गिरी बन्धुमा छानबिन हुन्छ। म सोध्न चाहन्छु, कार्यकारी को? जवाफ दिनु पर्दैन? कहाँबाट चलेको छ? शक्ति केन्द्र कुन हो? किन छानबिन गरिँदैन?’

मंगलबार मात्रै एकीकृत समाजवादीका नेता मेटमणी चौधरीले ओली एक बर्षभित्रै जेल जाने बताएका थिए। 

उनले भनेका थिए,‘मैले राष्ट्रपति निवासमा आज गृहमन्त्रीसँग भने सारा दुनियाँले विश्वभरका मानिसले नेपालको होइन, यो सुन काण्डमा केपी ओलीको नाम आइसकेको छ, केपी ओली जोडिसकेको छ, लगायतका जति काण्ड छन् सबै काण्डमा केपी ओली एक नम्बरमा छन् । हामीले गृहमन्त्रीलाई किन पक्राउ परेका छैनन् भनेर सोधिरहेका छौँ । केपी ओली चाँडै पक्राउ पर्दैछन्, त्यसकै डरले केपी ओलीले संस्द अवरोध गर्ने बखेडा झिकिरहेका छौँ । यही वर्षमा यही उमेरमा केपी ओलीलाई समात्छ । मैले जे बोल्छु, त्यो हुन्छ, त्यो नै राजनीतिक कोर्ष अघि बढ्छ ।’

ओली भन्छन्ः छानविन आवश्यक छैन
यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले भने सो जग्गाका विषयमा छानबिन गर्न जरुरी नरहेको प्रतिक्रिया दिएका छन्। बुधबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले करिब २८० बिगाहा जग्गा सट्टापट्टा गर्ने तत्कालीन सरकारको निणर्यका विषयमा छानबिन गर्न जरुरी नभएको तर छानबिन गर्न मन लागे गर्न सुझाव दिए।

कानून बिना जग्गा सट्टापट्टा गर्ने गरिएपछि एमाले सरकारले कानून बनाएर व्यवस्थित गर्ने काम गरेको ओलीको जिकिर थियो।

उनले भने, ‘म सरकारलाई, सत्तापक्षलाई धन्यवाद भन्छु कि उहाँहरु लचिलो भएर आज सदन खुलाउन तयार हुनुभयो । हामी पहिल्यैदेखि सदन खुलाउने, चलाउने पक्षमा हो । तर यो सुन तस्करीको काण्ड जुन भइरहेको छ, यो सधैँका लागि रोकियोस्, यसको राम्रो छानबिन होस्, निर्दोष नपरुन्, दोषी नउम्किउन् भन्ने हो । यसमा सरकारले मञ्जुर गरेको थिएन, त्यसकारण तनाव भएको हो । गिरिबन्धुले चिया स्टेट लगाएका छन्, चिया बनाएका छन् । बिना कानून पहिला जमिन दिएको थियो, सट्टा भर्ना अहिले हामीले कानून बनाइदिएका छौँ । जरुरी नै छैन, गर्न मन लागे छानबिन गरे हुन्छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार