आइतवार, श्रावण २४ गते २०८३
बेलगाम बोली

प्रधानमन्त्रीको भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ राजदूतका अमर्यादित अभिव्यक्ति, चौतर्फी विरोध

बिहिवार , भाद्र २१, २०८०

काठमाडौं। अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपालका लागि चिनियाँ राजदूत छन् सोङको अमर्यादित अभिव्यक्तिको आलोचना भएको छ । केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै चिनियाँ राजदूत सोङले नेपालले भारतमा निर्यात गरिरहेको विद्युत्बाट घाटा बेहोरिरहेको अभिव्यक्ति दिएका थिए।

चिनियाँ राजदूतबाट अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत भएको भन्दै राजनीतिक तथा कूटनीतिक क्षेत्रका जानकारहरूले समेत आलोचना गरिरहेका छन्। अझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको सम्मुखमा यस्तो वक्तव्य दिनु कुनै हालतमा स्वीकार्य नहुने उनीहरूको टिप्पणी छ ।

यहीबीचमा बिहीबार बसेको प्रतिनिधिसभा अन्र्तगतको अन्र्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरूले चीनले नेपालको अन्य देशसँग भइरहेको सम्बन्धबारे बोल्न नमिल्ने बताएका हुन् । 

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले बाहेक सबै सांसदले राजदूत छेनको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत भएको निष्कर्षमा एकमत देखिएका छन् । सुवालले भने राजदूतमाथि प्रश्न गर्ने सांसदहरूमाथि प्रश्न गरेका थिए। 

‘चिनियाँ राजदूतले मात्रै बोलेका होइनन् । यसअघि भारतका राजदूतले पनि हाम्रो आन्तरिक विषयमा यसरी नै बोलेका थिए, सुवालले सांसदहरूलाई प्रश्न गरे, ‘त्यतिबेला किन प्रश्न नउठाएको ?’

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको सम्बन्धलाई लिएर तेस्रो मुलुकले चासो व्यक्त गर्दा त्यसले नेपाल अप्ठ्यारोमा पर्ने बताए। ‘नेपालमा धेरै मुलुकका कूटनीतिज्ञ छन् । यसमा एउटाले प्रतिक्रिया जनाउने र अर्कोले चासो व्यक्त गर्दा अप्ठ्यारो हामीलाई पर्छ’ एकीकृत समाजवादी अध्यक्ष नेपालले भने, ‘त्यसैले कूटनीतिक मर्यादा बाहिर गएर कसैले पनि बोल्नुहुँदैन ।’

समिति सदस्य तथा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले स्पष्ट शब्दमा कुनै पनि मुलुकले नेपालको तेस्रो मुलुकसँगको सम्बन्धलाई लिएर बोल्नु उचित नभएको बताए। 

‘को राजदूत र कहाँको राजदूतले भन्ने भन्दा पनि हाम्रो आन्तरिक मामिलामा कुनै पनि छिमेकी वा मुलुकले टिप्पणी गर्ने परम्परा बस्नै दिनुहुँदैन । यो हाम्रो घरेलु विषय हो, हाम्रो सम्बन्धको विषय हो’ उनले भने, ‘सही–गलत हामी सम्बन्धित पक्षसँग कुरा गर्छौं ।’

यस्तै एमाले सचिव भीम आचार्यले अभिव्यक्तिको विषयलाई लिएर राजदूतसँग स्पष्टीकरण माग्नुपर्ने बताए। 

‘नेपालको आन्तरिक मामलामा कुनै पनि पक्ष बोल्नु राम्रो हुँदैन’ आचार्यले अघि भने, ‘राजदूतले बोलेको विषयमा जानकारी मागेर समितिलाई जानकारी गराउनुपर्छ ।’

राप्रपा महामन्त्री धवलशमशेर राणाले चिनियाँ राजदूतलाई बोलाएर सचेत गराउन सरकारसँग माग गरे। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि चिनियाँ राजदूत छेनले दिएको अभिव्यक्ति संवेदनशील भएको भन्दै नजरअन्दाज गर्दा थप असहजता सिर्जना हुने धारणा राखे।

बैठकको अन्त्यमा समिति सभापति राजकिशोर यादवले राजदूत सङले नेपाल-भारत व्यापारका विषयमा दिएको अभिव्यक्तिका सम्बन्धमा सोधपुछ गरेर सचेत गराउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिए।

‘नेपाल सार्वभौम मुलुक हो । के गर्ने नगर्ने भन्ने निर्णय नेपालको आन्तरिक हो’, समिति सभापति  यादवले भने, ‘चिनियाँ राजदूतले सार्वजनिक रूपमा दिएको अभिव्यक्ति के हो भन्ने बारे परराष्ट्र मन्त्रालयले सोधपुछ गरेर सचेत गराउनु निर्देश गर्दछु ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार