काठमाडौं । क्षेत्रफलको हिसाबको संसारको दोश्रो ठूलो देश क्यानडा संसारको विकसित मुलुकहरुमा एक हो ।
क्यानडामा कतिपय नियमहरु निकै अनौठा पनि छन् । त्यस्तै मध्ये एउटा नियम हो मुसा पाल्न सरकारको अनुमति लिनुपर्ने नियम ।
क्यानडामा मुसा पाल्नु चाहीँ निकै कठीन काम हो । किनकी मुसा पाल्नका लागि पनि सरकारको अनुमति लिनु पर्दछ । अझै क्यानडाको मुसामुक्त राज्य अबलेर्टामा भने मुसा नै पाल्न पाइँदैन । यदि नियम उल्लंघन गरी मुसा पालेमा ५ हजार डलर सम्म जरिवाना हुन्छ ।
उक्त राज्यमा ७० वर्षदेखि एउटा पनि मुसा फेला परेको छैन । त्यस्तै क्यानडामा विष राखेर मुसालाई मार्ने काम पनि गैरकानूनी काम हुन्छ । उसो त अमेरिकासँगको क्यानडाको सीमाना संसारको सबैभन्दा लामो भू–सिमानाको रुपमा रहेको छ जसको लम्बाई ८ हजार किलोमिटरभन्दा धेरै छ ।
यो भिमकाय मुलुकको ४० प्रतिशत भाग जंगलले ढाकेको छ । कतिपय जंगलहरु निकै विशाल छन् । भनिन्छ, क्यानडाका केही क्षेत्रहरुमा गुरुत्वाकर्षणको स्तर अन्य क्षेत्रहरुको तुलनामा कमजोर छ, त्यसैले त्यस्ता ठाउँहरुमा जाँदा हावामा उडेको जस्तो अनुभव हुनसक्छ ।
क्यानडालाई तालको देश पनि भनिन्छ । संसारको ताजा पानीमध्ये २० प्रतिशत क्यानडाकै तालहरुमा पाइन्छ ।
क्यानडामा ७ हजार ८२१ किलोमिटर लामो ट्रान्स क्यानडा राजमार्ग छ । यो राजमार्ग संसारको सबैभन्दा लामो राजमार्गमध्ये एक हो ।
यो राजमार्ग एक अन्तरमहाद्धिपीय संघीय-प्रान्तीय राजमार्ग प्रणाली हो, जुन आन्ध्र महासागर देखि लिएर प्रशान्त महासागरसम्म क्यानडाका सबै १० वटा प्रान्त भएर गुज्रन्छ । एजेन्सी