काठमाडौँ। चाडपर्वका अवसरमा हुन सक्ने विभिन्न फौजदारी प्रकृतिका अपराधहरू जस्तैः चोरी, डकैती, लुटपाट, मादक पदार्थको सेवन गरी हुने होहल्ला तथा झैझगडा, गुन्डागर्दी, सवारी दुर्घटना आदिलाई मध्यनजर गरी बालुवाटार र त्यसवरपरका क्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्न अन्तरक्रिया गरिएको छ ।
सामुदायिक सेवा केन्द्र टुँडालदेवीको आयोजनामा विजयादशमी, शुभदिपावली तथा छठ पर्वमा हुनसक्ने आपराधिक क्रियाकलाप न्यूनीकरणका लागि काठमाडौँ महानगरपालिका वडा नं ४ मा बसोबास गर्ने विभिन्न सङ्घसंस्था तथा लब्धप्रतिष्ठित व्यक्तिसँग आज अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष एवम् वरिष्ठ समाजसेवी रामप्रसाद न्यौपानेले काठमाडौँ महानगरपालिका वडा नं ४ भित्र चाडपर्वका नाममा हुने मादक पदार्थको सेवनका कारण हुने होहल्ला, झैझगडा, हातपात र मापसे गरेर सवारी चलाउँदा हुन सक्ने सडक दुर्घटना, क्षति लगाएतको आपराधिक क्रियाकलापको बारेमा छलफल तथा अन्तरक्रिया गरिएको बताए।
प्रधानमन्त्री निवासदेखि विशिष्ट व्यक्तिको निवास रहेको उक्त क्षेत्रलाई काठमाडौँको भीआईपी क्षेत्रका रुपमा लिइन्छ । कार्यक्रममा प्रहरी वृत्त महाराजगञ्जका प्रमुख अमर थापा क्षेत्री र प्रहरी वृत्त मालिगाउँका प्रमुख इन्द्रप्रसाद सुवेदीले उक्त क्षेत्रलाई सुरक्षित बनाउनका लागि सुरक्षा योजना बनाएर लागू गरिसकेको बताउनुभएको थियो ।
काठमाडौँ महानगरपालिका वडा नं ४ मा विशालनगर, चण्डोल, चुनदेवी, बालुवाटार, पञ्चकन्या, गणेशबस्ती, चप्पल कारखाना, प्रगति टोल, धुम्बाराही, रारामार्गलगायतका क्षेत्र पर्दछन् ।