काठमाडौं । दार्चुलामा भएको घटनाका बारेमा भारत सामु औपचारिक विरोध जनाउन नेकपा एमालेले माग गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काट्दा नेपाली नागरिक महाकाली नदीमा खसेको भन्दै भारतसामु औपचारिक विरोध जनाउन एमालेले माग गरेको छ ।
प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ विशेष समय लिएर बोल्दै एमाले सांसद गणेश सिंह ठगुन्नाले एसएसबीका जवानले तार काट्दा जयसिंह धामी नदीमा खसेको बताए । त्यहाँ उपस्थित मानिसहरुले तार नकाटिदिन हारगुहार गर्दा पनि तार निकाल्दा दुःखद र अमानवीय घटना घट्न पुगेको भन्दै उनले घटनाको विरोध गरे । साथै सरकारले औपचारिक रुपमै घटनाको विरोध जनाउनुपर्ने माग पनि राखे ।
प्रत्यक्षदर्शीहरुको बयान र जयसिंह धामीको परिवारले किटानी जाहेरी दिइसक्दा पनि सरकारले भारतीय राजदूतलाई बोलाएर औपचारिक विरोध जनाउन नसकेको उनले बताए । गृह मन्त्रालय र स्थानीय प्रशासनको वक्तव्य हेर्दा सरकार गम्भीर नदेखिएको समेत उनले बताए ।
यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले भने दार्चुला घटनामा छानविन समितिको प्रतिवेदनअनुसार नै सरकारले अडान लिने बताएका छन् । बैठकमा यो घटनाबारे जानकारी गराउने क्रममा उनले गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा छानविन टोली खटाइसकेको बताए । यो टोलीले घटनास्थलमा पुगेर अध्ययन गर्नुका साथै जयसिंह धामीभन्दा अगाडि तुइन तरेर पारी पुगेकाहरु र पारी रहेकाहरुलाई भेटेर कुराकानी गर्ने बताए ।