काठमाडौँ । डिभोर्सपछि एकसाथ देखिएका बलिउड अभिनेता आमिर खान र पत्नी किरण रावले आफूहरु खुसी भएको अभिव्यक्ति दिएका छन् ।
डिभोर्स घोषणा गरेको एकदिनपछि ’पानी फाउन्डेसन’को कार्यक्रममा सँगै भेटिएका बलिउड अभिनेता खान र पत्नी किरणले आफूहरु खुसी भएको अभिव्यक्ति दिएका हुन् ।
गत शनिबार बिहेको १५ वर्षपछि उनी दुईले संयुक्त रुपमा डिभोर्स घोषणा गरेका थिए ।’तपाईंहरुले हाम्रो घोषणा त सुन्नु भयो होला । तपाईंहरु कतिको चित्त पनि दुख्यो होला । मन परेन होला ।
तर हामी दुई एकदम खुसी छौं । हाम्रो सम्बन्धमा केही परिवर्तन आएको हो तर हामी दुई एकसाथ छौं । हाम्रो खुसीको लागि प्रार्थना तपाईंहरु प्रार्थना गर्नुहोस्,’ कार्यक्रममा आमिरले भनेका छन् ।
किरणले भने आमिर र आफू भोलिको दिनमा सँगै काम गर्ने बताएकी छन् । ’तपाईंहरुलाई आश्वासन दिन चाहन्छौं कि हामी दुई सँगै काम गर्नेछौं,’उनले भनिन् । ’यो १५ सालमा हामीले एक साथ जीवनभरको अनुभव, खुसी र हाँसो साट्यौं । हाम्रो सम्बन्धमा विश्वास, सम्मान र माया बढ्यो ।
अब हामी आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्न चाहन्छौं । पति पत्नीको रुपमा होइन, बच्चाको आमा र वुवा अनि परिवारको रुपमा,’बयानमा लेखिएको थियो । सन् २००५ मा बिहे गरेका उनी दुईको आजाद नामको एक छोरा छन् । संयुक्त बयानमा सार्वजनिक गर्दै दुवैले मिलेर उक्त छोरालाई हुर्काउने कुरा गरेका थिए ।
आमिर र किरणको भेट ’लगान’को सेटमा भएको भारतीय सञ्चारमाध्यमले लेखेको छ । त्यो फिल्ममा किरण सहायक निर्देशक थिइन् । किरणअघि आमिरले रीना दत्तसँग बिहे गरेका थिए । उनीहरूको सन् २००२ मा डिभोर्स भएको थियो ।