काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं चार दिनदेखि हिरासतमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नक्कली कागजात बनाई चरित्र हत्या गरेको आरोपमा मंसिर ४ गते प्रसाईँ पक्राउ परेका थिए ।
प्रधानमन्त्री ओलीविरुद्ध नक्कली कागजात बनाई चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका प्रसाईंमाथि साइबर अपराध,कागजात फर्जी बनाएको, आपराधिक उपद्रवविरुद्धको अभियोग, झुटा प्रमाण बनाएको र राष्ट्रपति वा सांसद्लाई धम्की दिएको कसुरमा प्रहरीले अनुसन्धान थाल्ने भएको छ ।
ओलीको कम्बोडियास्थित एक टेलिकम कम्पनीमा ३२ अर्ब रुपैयाँ लगानी रहेको भन्दै नक्कली प्रमाण बनाई नियोजित रुपमा चरित्र हत्या गर्न खोजेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले प्रसाईंलाई गत मंगलबार बिहान आफ्नै निवास भक्तपुरबाट पक्राउ गरेको थियो । प्रधानमन्त्री ओलीमाथि आरोप लगाएको भिडियो सार्वजनिक गरेको करिब १७ घण्टा भित्रै हतारहतार अदालतबाट पक्राउ पुर्जी जारी गरी सीआईबीले उनलाई पक्राउ गरेको थियो ।
प्रसाईंमाथि लगाइएको आरोपमा सार्वजनिक स्थानमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको भिडियोका सन्दर्भमा साइबर अपराध आकर्षित हुन्छ या हुँदैन भन्ने मै द्वविधा देखिन्छ । त्यस्तै प्रसाईं पक्राउ पर्नका लागि कसैको पनि जाहेरी उजुरी नआएको प्रहरीले बताएको छ ।
रहस्यमय कुरा त के छ भने प्रसाईंले भिडियो सोमबार साँझ करिब साढे ४ बजे सार्वजनिक गरेका थिए । उनलाई पक्राउ गर्न मंगलबार बिहान ९ बजे प्रहरी प्रसाईं निवास पुगेको देखिन्छ ।
तर, सरकार र सरकार प्रमुखको आलोचना र विरोध गर्ने नागरिकलाई लोकतन्त्रले प्रदान गरेको अधिकार नै हनन् हुने गरी तानाशाही शैलीमा सत्ता र शक्तिको दुरुप्रयोग गरी आफूविरुद्ध बोल्नेहरुको मुख थुन्न खोज्नु निन्दनीय रहेको कानुनविदहरु बताउँछन् ।
लोकतन्त्रमा नागरिकले सरकार र सरकार प्रमुखमाथि सभ्य र अनुशासित भाषामा आरोप लगाउन पाइने भए पनि त्यसलाई अपराध नै ठहर गर्न नहुने उनीहरुको तर्क छ ।
प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री ओलीको अर्बौं लगानी रहेको दाबीसहित भिडियो सार्वजनिक गरेपछि उनी प्रहरी हिरासतमा त पुगेका छन् तर यही काण्डमाथि अनुसन्धान चलिरहेको अवस्थामा एमालेसहितका नेता कम्बोडिया गएको विषयले सामाजिक सञ्जाल तातिएको छ । प्रसाईं प्रकरणसँग नेताहरुको कम्बोडिया भ्रमणको कुनै लेनादेना नरहेको भन्दै एमाले विदेश विभागका पूर्वप्रमुख राजन भट्टराईले कम्बोडिया जाने नेताहरुको सूची नै सार्वजनिक गरेका छन् ।
आईक्यापको १२ औँ अधिवेशनमा भाग लिन गएका १४ नेताको विवरण उनले सार्वजनिक गरेका हुन् । जुन सूचीमा एमालेबाट उनीसहित हालका एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठ, कांग्रेस नेतृ सुजाता कोइराला, पूर्वसांसद दिव्यमणि राजभण्डारी, माओवादी नेता अग्नि सापकोटा, जनमतका सीके राउत लगायत छन् ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई बुधबार काठमाडौँ जिल्ला अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रसाईं नेतृत्वको अभियानमा आबद्ध १० जनालाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई भक्तपुरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) होबिन्द्र बोगटीले जानकारी दिए । मङ्सिर ७ मा प्रसाईं नेतृत्वको समूहले काठमाडौँमा प्रदर्शन गर्ने तयारी गरेको छ । भड्काउपूर्ण आन्दोलन गर्नसक्ने आशंकामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
आरोपीहरुविरुद्ध प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ ।एउटा आरोपमा पक्राउ परेका प्रसाईंविरुद्ध थप कसुरमा अनुसन्धान र मुद्दा चलाउनुले प्रसाईं तत्काल हिरासतमुक्त हुने अवस्था देखिँदैन ।