आइतवार, श्रावण २४ गते २०८३

एक लाख जरिवानाले ओली र बालेनबीचको टकराव झनै बढ्यो, गल्ती कसको ?

आइतवार , मंसिर ९, २०८१

टक खाती, काठमाडौँ । नेकपा एमाले र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीचको मतभेद झनै बढेको छ । मंसिर सात गते सडकमा पुगेर नाटक देखाएको एमालेले जागरण सभा सकेपछि काठमाडौँ महानगरवपालिकाले एक लाख जरिवानाको पत्र काटेपछि एमाले र बालेनबीचको मतभेद झनै बढेको हो । 

महानगरले शुक्रबार दरबारमार्गमा फोहोर गरेको भन्दै सत्तारुढ दल एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीनै सहभागी सो कार्यक्रमले दरबारमार्गमा कार्यक्रम गर्दा जथाभावी फोहोरमैला गरी वातावरण प्रदुषण गरेको महानगरको ठहर छ ।

त्यसपछि हतारिएर फेसबुक लाईभ गर्दै एमाले नेताकार्यकर्ताले कार्यक्रम स्थल सफा गरेका थिए । उनीहरुले यसलाई मेयर शाहले एमालेमाथि गरेको प्रहारका रुपमा व्याख्या गरेका छन् ।

उनीहरुको दाबी अनुसार एमालेको सभा नसकिदै महानगरको कार्यालय बन्द भैसकेको थियो । संकलन गरिएको फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको भएपनि उल्टै जरिवाना गरेर बालेनले गल्ती गरेको एमालेका नेताहरुको गुनासो छ ।

अहिले यसै विषयलाई लिएर सामाजिक सञ्जालमा अनेक किसिमका टिकाटिप्पणी भइरहेका छन् । एकथरीले बालेनले एक लाखको चिट काटेर ठिकै गर्नुभयो भनिरहेका छन् भने अर्कोथरिले बालेनले दादागिरी देखाएको भन्दै कटाक्ष गरिरहेका छन् । महानगरपालिकाले तोकेको जरिवानाको पत्र बुझ्न एमालेले अस्वीकार गरेको छ । 

महानगर प्रहरी बल जरिबानासँग सम्बन्धित पत्र लिएर एमाले पार्टी कार्यालय च्यासल पुगेको थियो । प्रहरी बलका इन्स्पेक्टर किशोर भट्टराईको नेतृत्वमा पार्टी कार्यालय पुगेको टोली पत्र नबुझाइ फर्किएको छ । एमाले नेताहरूले जागरण सभाको आयोजक आफूहरू नभएको प्रतिक्रिया दिँदै पत्र नबुझेपछि महानगरको टोली फर्किएको हो ।

जागरण सभाको आयोजक एमालेका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटी रहेका थिए । तर, एमाले र बालेनको यो टकराव भने मंसिर सात गतेदेखिको मात्र होइन । ओली प्रधानमन्त्रीमा नियुक्त भएदेखि बालेनले उनीमाथि प्रहार गरिरहेका छन् भने, ओलीको बचाउमा एमालेका कार्यकर्ता उत्रिरहेका हुन्छन् । यता बालेनको पक्षमा निकै बलियो खम्बा भएर समर्थकहरु उभिरहेका छन् । 

केही सयम अघि मात्रै बालेनका समर्थनले प्रधानमन्त्री ओलीको व्यक्तिगत फेसबुक पेज अनफलो गर्न आह्वान गरेपछि दुई तहका सरकारका कार्यकारी प्रमुखबीचको टकराव पुनः एक पटक सार्वजनिक बहस नै बन्यो । २४ घण्टामा ओलीको फेसबुक पेज ४० हजार भन्दा धेरैले अनफलो गरे । त्यसपछि भने बालेन र ओलीबीचको द्धन्द्ध झनै चर्कियो ।

त्यसपछिटका केही दिन मेयर शाह र प्रधानमन्त्री ओलीबिच सार्वजनिक रूपमै आरोप-प्रत्यारोप चलेको थियो । फरक यति हो, बालेनले सामाजिक सञ्जाल प्रयोग गरे भने प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रमको मञ्च । मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत भदौ महिनामा मात्रै प्रधानमन्त्री ओली लक्षित ६ वटा ‘स्ट्याटस’ लेखेका थिए ।

लगातार बालेनले आफू लक्षित स्ट्याटस लेखेपछि प्रधानमन्त्री ओलीले समस्या पहिचान र सम्बोधनमा ध्यान दिएनन् । बरु उनले सार्वजनिक रूपमै बालेनलाई चेतावनीपूर्ण जवाफ दिन समय खर्चिने गरे । 

बालेनले प्रयोग गर्ने गरेको भाषा, शैली र शब्दलाई एकछिन बिर्सने र प्रधानमन्त्रीको टिप्पणीलाई विश्लेषण गर्ने हो भने के प्रधानमन्त्रीले त्यसरी जवाफ फर्काएर बस्न मिल्छ ? भन्ने प्रश्न नै खडा भयो । उक्त टकराव केही समय सेलाएको थियो । तर, फेरि ओली र बालेनबीचको टकराव मंसिर सात गतेदेखि पूनः सुरु भएको हो ।

मेयर बालेनले एक लाखको चिट काटेपछि प्रधानमन्त्री ओलीले मुख त खोलेका छैनन् । तर, एमालेका नेता कार्यकर्ताले बालेनको उक्त कदमको विरोध गरिरहेका छन् भने बालेनका समर्थकले एमालेलाई ठिकै गर्यो भनेर सामाजिक सञ्जाल तताइरहेका छन् ।

एक लाख  जरिवानाबारे प्रधानमन्त्री ओलीले चाडैँ जवाफ फर्काउनेमा कुनै दुविदा छैन । महानगरले एक लाख  जरिवानाको पत्र काट्नु कतिको उचित ? अहिले यो प्रश्न खडा भएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार