काठमाडौं । गौशाला, पिंगलास्थानमा मृत फेला परेकी २१ वर्षीया सुस्मिता खड्काको शव परिवारले बुझेको छ । प्रहरीले शव परीक्षण तथा पोष्टमार्टमका निम्ति महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाएको थियो ।
तर, दुई दिनदेखि शव ढाडिएकाले पोष्टमार्टमबाट मृत्युको यकिन कारण खुल्न सकेन । गौशालास्थित बागमती होटलको कोठा नम्बर ३०८ मा उनी मृत फेला परेकी थिइन् ।
बुधबार काठमाडौं महानगरपालिका–९ गौशालास्थित उक्त होटलमा कोठाको बाहिरबाट ताला लगाएको अवस्थामा सुस्मिता मृत भेटिएकी थिइन् । सुस्मितासँग उक्त होटल पुगेका उनका प्रेमी देवबहादुर थापाको प्रहरीले खोजी गरेको छ।
कागेश्वरी मनोहरा नगरपालिकास्थित आलापोट घर भएकी सुस्मिता बसेको होटलको कोठा बुधबार अबेरसम्म नखोलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयको रोहवरमा ढोका खोल्दा सुस्मिता मृत अवस्थामा भेटिएकी थिइन् ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार सुस्मितासँगै होटल पुगेका देवबहादुर अहिले फरार छन् । देवबहादुर जापानबाट गत मंसिर ३० गते मात्र नेपाल आएका थिए । विगत ३ वर्षदेखि जापानमा बसेका देवबहादुरको सुस्मितासँग प्रेम सम्बन्ध रहेको आफन्तले प्रहरीलाई बताएका छन् ।