काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयसहित तीनवटा कार्यालयमा अब प्रहरी वरिष्ठ उपरक्षिक (एसएसपी) ले नै कमाण्ड गर्ने भएका छन् ।
विमानस्थल, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र भरतपुर तालिम शिक्षालयमा अब डीआईजी नखटाइने भएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी विश्व अधिकारीले अब जसको दरबन्दी जहाँ हो त्यहीँ खटाउने निर्णय भएको बताएका छन् ।
पहिले यी तीनवटा कार्यालयमा एसएसपीकै दरबन्दी भएपनि काजमा डीआईजी खटाउने गरिएको हो । यसअघि यी कार्यालयमा डीआईजीकै दरबन्दी थियो । तर सरकारले डीआईजीको दरबन्दी कटौती गरेपछि एससएसपीले कमाण्ड गर्न थालमेका हुन् ।
केही वर्षदेखि अन्य कार्यालयमा दरबन्दी भएका डीआईजीले काजमा यी कार्यालयमा कमाण्ड गर्दै आएका हुन् । साइबर ब्यूरो, प्रदेश समन्वय विभाग र महिला बालबालिका निर्देशनालयमा दरबन्दी भएका डीआईजीलाई यी कार्यालयमा खटाइँदै आएको हो ।
तर केहीदिनअघि यी कार्यालयमा काज सरुवा गरिएका एसएसपीहरुलाई पूरै कमाण्डको जिम्मा दिने गरी पठाइएको छ । गृह मन्त्रालयले विमानस्थल प्रमुखमा एसएसपी सोमेन्द्र सिंह राठौर, उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखमा विनोद घिमिरे र भरतपुर तालिम शिक्षालयमा भूपेन्द्र खत्रीलाई सरुवा गरेको हो।
घिमिरे हाल उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् । सोमेन्द्रलाई यसअघि उपत्यका अपराध अनुसन्धान कार्यालयबाट छोटो समयमै सरुवा गरिएको थियो ।
भूपेन्द्र पनि सोमेन्द्रसँगै काठमाडौँ परिसरमा सरुवा भएका हुन् । तर उनलाई पनि त्यहाँबाट रवि लामिछाने गृहमन्त्री हुँदा अवधि नपुग्दै सरुवा गरेका थिए ।
अहिले सरकारले डीआईजीले कमाण्ड गरिरहेका कार्यालयमा प्रमुख बनाएर खटाउने निर्णय गरेको छ ।