काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको विश्वास पात्र हुन्-मुकुल ढकाल । एक त संस्थापक महामन्त्री, त्यसमाथि सभापतिको खास विश्वासपात्र। तर, उनैसँग दूरी बढेपछि पार्टीबाट निकालिँदा मुकल पानी बिनाको माछा जस्तै भएका छन् ।
रास्वपाले उनलाई पार्टी अनुशासनविपरीत अभद्र, अमर्यादित व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेको भन्दै भदौ ११ गते उनलाई पार्टीबाट निकालेको थियो । केहीसमय त उनले सभापति रवि लामिछाने क्लबबाट निकालिएको भन्दै भण्डाफोर गरे। रविले गरेको बदमासीको प्रमाण आफूसँग रहेको दाबी पनि गर्दै हिँडे।
तर, पार्टीबाट निकालिएको चार महिनाको अन्तरालमा मुकुलले फेरि रास्वपामा फर्कन खोजिरहेका छन् । पछिल्लो समय उनले रविको पक्षमा समेत बोलिरहेका छन् । उनको यस्तो प्रयासले सो पार्टीमा भने हलचल पैदा गरेको छ। तर, पार्टीबाट निष्कासन भएको केही महिनापछि नै उनले सोही पार्टीमा फर्किन जोर लगाउन थाले। त्यसका लागि उनले केही केन्द्रीय सदस्यसँग भेटघाट गरे।
उनलाई कारबाही गर्ने निर्णयमा सबै केन्द्रीय सदस्यले हस्ताक्षर गरेका थिए। रवि जेल परेपछि उनलाई भेट्न जाने अनि सम्बन्ध सुधार्ने मुकुलको योजना हो । तर, त्यो सफल हुन सकेन । रविसँग भेटेर सम्बन्ध सुधार्ने पहिलो योजना सफल नभएपछि ढकालले दोस्रो विकल्प खोजो– आफ्ना पक्षमा रहेका केही नेतालाई भनेर केन्द्रीय समितिमा पत्राचार गर्ने।
उनलाई कोसी प्रदेश सभापतिले साथ दिए। झापा जिल्ला पनि ढकाललाई पार्टीमै फर्काउनुपर्छ भन्ने पक्षमा उभिइसकेको थियो। पार्टीमै फर्काउनुपर्छ भन्ने पक्षमा केही नेता उभिएपछि पार्टीभत्र हलचल मच्चिएको छ । अब रविसँग उनले सम्बन्ध सुर्धान सकेको खण्डमा भने फेरि रास्वपामा मुकुलको चुकुल खुला हुनेछ ।
रविका कोर टिमका मुकुल बाइबास हुनुको कारण के हो ?
लामिछानेको कोर टिमका एक सदस्य हुन् मुकुल । मुकुल चार महिनाअघिसम्म पार्टीमा निकै हावी थिए । रविको आडमा सबै नेतालाई तर्साइरहेका थिए । उनको आफ्नै रवाफ थियो ।
महामन्त्री मुकुलले संसदमा आफूले ‘लेखिदिएको कथा पढ्ने’ निशा डाँगीलाई सचेतक बनाउँदा पार्टीभित्र विवाद उत्पन्न भयो । सचेतकको जिम्मेवारी सुमना श्रेष्ठ वा सोबितालाई दिनुपर्ने माग हुँदा मुकुलले गणेश कार्कीबाहेक सबै सांसद र केन्द्रीय सदस्यलाई थर्काए ।
त्यतिखेर महामन्त्री मुकुलको दादागिरी शैलीबाट रवि र दीपक बोहोराचाहिँ झस्किएकै थिए । अनि, रास्वपा दोस्रो पटक सरकारमा जाँदा महामन्त्री मुकुलले निशा डाँगीलाई मन्त्री बनाउन चाहन्थे । त्योबेलाचाहिँ रवि,डिपी अर्याल र दीपक बोहोराले सीधै इन्कार गरे ।
पछिल्लो समय उपसभापति डिपी अर्याल र दीपक बोहोराको सल्लाहमा डिपीनिकट मानिएका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई रविले लगभग महामन्त्री बनाउने छनक दिइरहेका थिए । मुकुल पार्टीभित्र एक्लिँदै गइरहेका थिए । यसैबीच रास्वपाले उनलाई गत जेठमा मतदाताको मनोभावना बुझ्नको लागि देशदौडाहामा लगायो ।
मुकुल पार्टीको निर्देशन अनुसार गए । उनले केही जिल्ला पुगेर मतदातासँग गरेको कुराकानीलाई प्रतिवेदनमा उतारे । त्यसपछि काठमाडौँ फर्किसकेपछि भने उनले आफूले आफूलाई राजा ठान्न थाले । रविको आलोचना गरेर आफू हिरो भन्ने मौका यहि हो ठानेर उनले अनेक किसीमका हर्कत देखाउन थाले ।
पार्टीभित्र प्रतिवेदन पेश गर्नुभन्दा अगाडि उनले मिडियाबाजी गरेर प्रतिवदेन सार्वजनिक गरे । त्यसपछि भने रवि लामिछाने आक्रोशित बने । उनलाई किन यसो गरेको ? भन्दै दुई पटक पार्टीले स्पष्टिकरण सोध्यो । तर, उनले चित्तबुझ्दो जवाफ नदिएपछि उनलाई अन्तमा रविले पार्टीबाट निकालेका हुन् ।