काठमाडौँ । कोरोना संक्रमण बढिरहेकै बेला भक्तपुरमा भने घण्टाकर्ण पर्व मनाइएको छ । यो पर्व उपत्यकाभरि मनाइन्छ । साउन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्व परापूर्वकालदेखि नेवार समुदायले मनाउँदै आइएको छ ।
यो पर्व गठेमंगल नाम गरेको राक्षस मारिएको खुसियालीमा बिहानै हरियो नर्कट, निगालो, गहुँको छ्वाली मिसाएर घण्टाकर्णको स्वरुप बनाइ दोबाटो र चौबाटोमा उभ्याउने चलन छ । अन्त्यमा घण्टाकर्णको प्रतिमालाई आगोले जलाइन्छ या खोलामा लगेर बगाइन्छ ।
घण्टाकर्ण चतुर्दशीलाई गथामुंगः चःहे भनेर चिनिन्छ । मानिसहरु बिहान स्नान पूजापाठ गरी घर, आँगन सफा गर्छन्, केटाकेटीहरू बाटोमा डोरी टाँगेर पैसा माग्छन् । यस दिनमा नराम्रा तत्त्व र दुर्भाग्यबाट गठेमंगलको औंठीले सुरक्षा दिने जनविश्वासका कारण धातुको औंठी लगाउने चलन पनि रहेको छ ।
यसदिन बालबालिकाहरुले घण्टकर्णको प्रतिमा बनाइ बटुवाहरुसँग दान लिन्छन्, दिन नमानेका बटुवाहरुलाई घण्टाकर्णको नाति भनेर जिस्काउँछन् । भूतप्रेत भगाउने यो गठेमंगल पर्व सकिएसँगै उपत्यकामा लाखे नाच र जात्राहरू हुन्छन् ।