काठमाडौँ । केही दिन अगाडि मात्रै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू साधारण मान्छे भएको भनेपछि एउटा प्रश्न उठेको छ । त्यो प्रश्ने हो, ‘के साच्चै ओली साधारण मान्छे हुन् ?’
ओलीले भनेका थिए,‘ मलाई त आजकल चिन्नै छाडे । म भनेको साधारण र इमान्दार मान्छे हो ।’ तर, ओली अहिले साधारण नभएपनि करिब चार दशक अगाडिसम्म उनी साधारण व्यक्ति नै थिए ।
केपी शर्मा ओलीको पूरा नाम खड्गप्रसाद ओली हो । तेह्रथुम जिल्लाको इवा गाउँको साधारण किसान परिवारमा बुवा मोहनप्रसाद ओली र आमा मधुमाया ओलीको कोखबाट वि.सं. २००८ साल फागुन ११ गते केपी शर्मा ओलीको जन्म भएको हो ।
चार वर्षको उमेरमै आमा मधुमाया ओलीको निधन भएपछि उनले मातृस्नेहबाट विमुख हुनुपर्यो। आमाको स्नेही काख गुमाएका ओलीको पालनपोषण हजुरआमा राममाया ओलीले गरेकी हुन्। ओलीले बाल्यकालमा गाईवस्तु चराउने, घाँस काट्ने, खाना पकाउने, भाँडा माझ्ने सबैजसो काम गरेका थिए । ओलीले कक्षा ४ सम्मको अध्ययन गाउँमा पूरा गरे । तेह्रथुम छाडेर २०२० सालमा ओलीको परिवार झापा बसाइँ सर्यो ।
झापा बसाइँ सरेपछि ओलीका बुबा मोहनप्रसाद ओली एउटा विद्यालयको जग्गा ठेक्कामा लिएर खेती किसानीमा लागे । त्यसबेला ओलीले खेती किसानीमा बुवालाई सघाउथे । उनले आदर्श माध्यमिक झापाबाट २०२८ सालमा एसएलसी उत्तिर्ण गरेका हुन्। हाल ओली अनन्तलिङ्गेश्वर नगरपालिका–२, बालकोट, भक्तपुरका स्थायी वासिन्दा हुन् ।
ओलीले २०२३ मा माक्र्सवादी अध्ययन दलमा संगठित भई प्रशिक्षण प्राप्त गरेका हुन्। माक्र्सवादी अध्ययन दलमा सामेल भएको दुई वर्षमै २०२५ सालमा ओली पूर्णकालीन राजनीतिमा सामेल भए । त्यतिबेला उनी १७ वर्षका थिए । ओलीको राजनीतिक इतिहास हेर्दा ओलीले पञ्चायतविरुद्ध लड्न भने खासै भुमिका खेलेको देखिदैँ ।
२०२९ वैशाख २६ गते झापा विद्रोहमा बुटन चौधरीको हत्या भयो । बुटनको हत्यामा दोषी ठहर हुदैँ ओली जेल चलान भएका हुन् । २०३० असोज २३ गते पक्राउ परेका ओलीले गोलघरको यातनासहित १४ वर्ष लामो कठोर कारावास जीवन बिताए ।
जेलमा रहँदाओलीमा शारीरिक समस्या सिर्जना भयो । ओलीलाई टीबी र अल्सर दुबै रोगले सतायो । ०३४ सालतिर उनी उठ्नै नसक्ने अवस्थामा पुगे । टीबीका कारण उनको मुखबाट रगत आउँथ्यो भने अल्सरका कारण दिसाबाट रगत जान्थ्यो । केही महिना उनलाई अरुले र्डोयाएर दिसा गराउन लैजाने र दिसा धोइदिनुपर्ने अवस्थामा उनी पुगे ।
जेलभित्रको पनि जेल मानिने गोलघर जहाँ मानसिक स्थिति बिग्रेकालाई राखेर यातना दिइन्थ्यो, त्यहाँ राखेर ओलीलाई चरम यातना दिइयो । ‘गोलघरभित्र उहाँलाई सिधा उभिन, खुट्टा तन्काएर सुत्न, दिसा पिसाबका लागि बाहिर जान छुट थिएन । त्यहीँ खाने, त्यहीँ शौच गर्ने, दुर्गन्धयुक्त गोलघरको छिँडीमा मुसाले फोहोर छिटेर लडाइँ गर्थे । शौचालयको सेफ्टी ट्याङ्कीबाट दिसा निकालेर मुसाले जीउभरि फोहर पारिदिन्थे । ओढ्ने–ओछ्याउने लुगा हरहमेसा ओसले भिजेको अवस्थामा हुन्थ्यो।’, जेलले जन्माएको नेता ‘केपी शर्मा ओली’ नामक शिर्षकमा गोरखापत्रले छापेको समाचारमा उल्लेख गरिएको छ ।
बिहान उज्यालो हुँदा ओली मरे कि जिउँदै छन् भनेर उनको अवस्था बुझन राधाकृष्ण मैनाली, नरेश खरेलहरु जेल पुग्थे । अतन्त ओली २०४४ साल असार ११ गते भद्रगोल जेलबाट रिहा भए ।
यो तस्बिर उनी जेलबाट छुट्दा खेरिको हो । जेलबाट छुट्दा उनी अत्यन्तै दुब्ला पातला थिए । तर, अब अहिले ओली कहाँबाट कहाँ पुगेका छन् । फाटेका लगा लगाउने ओली महलमा बस्ने भए । तर, जनताको भने बेहाल छ ।