मंगलवार, आश्विन २७ गते २०८३

अछामको घटनामा अनुसन्धान गर्न  प्रदेशको टोली खटियो 

मंगलवार , माघ १५, २०८१

काठमाडौं । अछाममा गोठालो गएका दुई जना किशोरी मृत अवस्थामा भेटिएको घटनामा अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयको टोली खटिएको छ ।

प्रदेश प्रहरी कार्यालयले ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा ढकारी-८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको घटनाको अनुसन्धानका लागि टोली खटाएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश चन्दले जिल्ला प्रहरी कार्यालयले गरिरहेको अनुसन्धानलाई सघाउन प्रदेशबाट छुट्टै टोली परिचालन गरिएको बताएका छन् ।

‘जिल्ला प्रहरी कार्यालयले दुई जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिररहेको छ तर अहिलेसम्म धेरै कुरा खुलेको छैन्, ।’ ‘अनुसन्धानलाई सघाउन प्रदेशबाट टोली परिचालन भइरहेको छ । दिउँसोसम्म अछाम पुग्छ ।’ शनिबार गाईबाख्रा चराउन गएका दुवै किशोरी बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा दुवै जना आइतबार मृत अवस्थामा फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) ईश्वरी भण्डारीकाअनुसार घटनाको अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको छ । उनीहरूमाथि अनुसन्धान जारी रहेको छ । सोधपुछका लागि समेत प्रहरीले केहीलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई सोधपुछपछि छाडिएको प्रहरीले बताएको छ ।

डीएसपी भण्डारीले घटना हत्या वा भवितव्य के हो ? अहिले नै भन्न सकिने अवस्था नरहेको बताएका छन् । भण्डारीले अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) सँग पनि सहयोग लिइरहेको बताएका छन् ।

भेरी प्रादेशिक अस्पतालमा मृतक किशोरीहरूको शव परीक्षण गरिएको छ तर रिपोर्ट आउन बाँकी छ । उनीहरूको शव आज अछाम ल्याइने प्रहरीले बताएको छ । प्रहरीले तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिरहेका छन् । मृतकका आफन्तले घटना शंकास्पद रहेकाले गहिरो अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार