काठमाडौं । लेखक समर निरौला र पूर्णिमा जोशीको फिल्म ‘ममी’ शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ । बुधबार साँझ क्यूएफएक्सको सिभिल हलमा शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘ममी’ को रेडकार्पेट प्रिमियर गरिएको छ ।
प्रिमिएरमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक ज्ञानेन्द्र देउजा, निर्माता छविराज ओझा, नवल नेपाल, अभिनेत्री केकी अधिकारी, अभिनेता सलिनमान बनियाँ, सलोन बस्नेतदेखि पूर्वमिस नेपाल तथा अभिनेत्री नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल जेनिशा मोक्तानलगायत फिल्मकर्मी र रंग पत्रकारको उपस्थिति रहेको थियो । प्रिमिएरमा फिल्म राम्रो लागेको सबैले प्रतिक्रिया दिएका छन् । अभिनेत्रीद्धय प्रियंका कार्की, दीया मास्के र अभिनेता सुलक्षण भारतीको मुख्य भूमिका रहेको फिल्म फ्यामिली हरर जनरामा निर्माण भएको छ ।
प्रिमियरमा आकाशे नीलो पोशाकमा रगत लतपतिएको पहिरन किशोरीहरूले प्रस्तुत गरेका थिए । अभिनेत्री मास्के पोतेसहित सेतोकालो पहिरनमा प्रस्तुत थिइन् । प्रियंका भने कालो स्लिभलेस पहिरनमा उपस्थित थिइन् । प्रियंकासँगै उनकी आमा पनि प्रिमियर शो मा उपस्थित थिइन् । अभिनेत्री तथा निर्देशक दीपात्री निरौलाले प्रिमियर शोपछि मिडियासँग प्रतिक्रिया दिँदै विषयवस्तु अनुसार उत्कृष्ट फिल्म बनेको बताएकी छन् । धेरैपछि नेपालमा एउटा उत्कृष्ट फ्यामिली हरर फिल्म हेर्न पाएकाले सुन्तुष्टी मिलेको उनले बताएकी छन् ।
अभिनेत्री केकी अधिकारीले पनि फिल्म राम्रो बनेको भन्दै समर निरौला जस्ता नयाँ निर्माता तथा निर्देशकलाई नेपाली फिल्म क्षेत्रमा स्वागत गर्नुपर्ने बताएकी छिन् । अभिनेता सलोन बस्नेतले सवैलाई फिल्म हेर्न आग्रह गरेका छन् । अभिनेत्री तथा पूर्वमिस नेपाल नम्रता श्रेष्ठले पनि ‘ममी’ ले तर्साउन र समाजमा घट्ने यस्ता घटनाको बारेमा सजग हुने सन्देश दिएको बताइन् । अभिनेता सलिनमान बनियाँले पनि फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका छन् ।
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्ममा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ । समरले यसै फिल्म मार्फत निर्देशनमा डेब्यू गरेका हुन् । फिल्मको निर्माता लोकराज जोशी तथा पूर्णिमा जोशी हुन् भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् । फिल्मलाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्ने भएका छन् ।