काठमाडौँ । सन्तोषी महत बहादुर र मिहिनेती थिइन् । तर, प्रेम सम्बन्धका कारण सन्तोषीले आत्महत्या गरेको खबरले सबै अचम्ममा परेका छन् ।
केही महिना अगाडिमात्रै सन्तोषी सिन्धुपाल्चोकबाट इन्स्पेक्टरमा नाम निकाल्ने पहिलो महिला बनेकी थिइन् । सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षकको ९ औं नम्बरमा नाम निकालेर बेसिक तालिम गर्न ३ महिना अघि मात्रै पोखरा पुगेकी सन्तोषी महतले गत शनिबार शौचालयको बिममा झुन्डिएर आत्महत्या गरेकी हुन् ।
सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-७ लागर्चे घर भएकी महतले सशस्त्रमा जवानदेखि जागिर खाएकी थिइन् । त्यसपछि उनको कडा मिहिनेतले असई हुदैँ इन्स्पेक्टरमा समेत नाम निकाल्न सफल भइन ।
तर, इन्स्पेक्टरको फुली लगाउन नपाउदैँ उनी सधैका लागि अस्ताइन् । इन्स्पेक्टरमा नाम निकाल्न उनले निकै दुख कष्ट भोग्नु परेको थियो । उनले राम्रोसँग सुतेको रात थिएन । जतिबेला पनि उनको हातमा लोकसेवाको किताब हुन्थ्यो ।
पटक पटक नाम निकाल्न असफल सन्तोषीले फेरि २०८० मा आवेदन दिइन् । र, नाम निकाल्न सफल भइन् । आवेदन दिदाँ सन्तोषीले दिदी सविनालाई भनेकी थिइन्, ‘यो पटक दिन्छु नाम निस्किएन भने जिन्दगीभर किताब छुँदिन म पनि अरूले जस्तै आफ्नो जीवन बाँच्छु । साथीभाइसँग घुम्छु रमाउँछु । ८ वर्ष भयो मलाई मेरो सपनाले कैदी बनाएको ८ वर्ष कैदी बनाएर राखेको सबै रहरहरू पूरा गर्छु।’
सन्तोषीले ६ महिनाको कडा मिहिनेतपछि लोकसेवाको परीक्षा दिएर विभिन्न चरण पार गर्दै खुल्लाबाट ९ नम्बरमा नाम निकालेकी थिइन् । घरमा उनको सफलताले उत्सव छाएको थियो । तर, सफल भएको केही समयमा नै उनले संसार त्याग गरेर गइन् । उनले आत्महत्या गर्नुको कारण हो प्रेम सम्बन्ध ।
पारिवारिक स्रोतका अनुसार प्रेम सम्बन्धको कारणले उनले आत्महत्या गरेकी हुन् । उनी एक प्रहरी निरीक्षकसँग प्रेम सम्बन्धमा थिइन् । प्रेम सम्बन्धमा दरार आएपछि उनले आत्महत्या गरेको हुन सक्ने आशंका छ ।