आइतवार, श्रावण २४ गते २०८३

पहाडका केही जिल्लाहरुमा आजदेखि हर्षोल्लासका साथ होली पर्व मनाइँदै

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौं । पहाडका केही जिल्लाहरुमा आजदेखि होली पर्व सुरु भएको छ । खुसी, सदभावना र रंगको पर्व होली, बैतडीसहित सुदूरपश्चिममा आजदेखि उल्लाहसपूर्वक होली पर्व सुरु गरिएको छ । 

holi.jpg

फागुन शुक्ल दशमीका दिनदेखि फागु पुर्णिमा अर्थात (फागुन शुक्ल चतुर्दशी) ५ दिनसम्म होली पर्व हर्षोल्लासका साथ मनाइने गरिन्छ । सुदूर पहाडमा सामूहिक रूपमा घरघरमा गएर होली खेल्ने गरिन्छ । फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिँदैन, नाचगान पनि गरिन्छ ।

बूढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगान गरिरहेका हुन्छन् । होलीमा परम्परागत बाजा बजाउने अनि समूहमा आबद्ध भई नाच्ने पुरानो परम्परा रहिआएको छ । 

Screenshot 2025-03-11 120027.png

किन मनाइन्छ होली पर्व ? होली पर्वको एतिहासिक रहस्य   

होली पर्वको सुरुवात प्राचीन हिन्दू ग्रन्थहरुमा पाइने एक पौराणिक कथासँग जोडिएको छ । हिन्दू धर्मका धार्मिक ग्रन्थहरू, पुराणहरू तथा लोककथाहरूमा यसको उल्लेख गरिएको  पाइन्छ । यसको सुरुवात प्राचीन भारतमा वेद-पुराण कालदेखि भएको मानिन्छ । पौराणिक इतिहास होलीको मुख्य उत्पत्ति होलिका दहन सम्बन्धी कथा रहेको छ, जसमा असुर राजा हिरण्यकशिपु, उनको भक्त छोरा प्रह्लाद, र होलिका को कथा जोडिएको छ ।

पुराणहरूमा उल्लेख भए अनुसार, असुर राजा हिरण्यकशिपु भगवान् विष्णुका  कट्टर विरोधी थिए । उनी आफ्नै राज्यमा आफूलाई भगवान् ठान्ने गर्दथ र सबैलाई आफ्नो पूजा गर्न बाध्य बनाउथे । तर, उनको छोरा प्रह्लाद भने भगवान् विष्णुका परम भक्त थिए । यसले हिरण्यकशिपुलाई क्रोधित बनायो, र उनले छोरालाई विष्णुको भक्ति त्याग्न धम्की दिए । 

तर, जब प्रह्लादले आफ्नो भक्ति त्यागेनन्, हिरण्यकशिपुले उनलाई मार्ने विभिन्न प्रयास गरेका थिए । अन्त्यमा, हिरण्यकशिपुको बहिनी होलिका, जसलाई अग्निबाट रक्षा गर्ने वरदान प्राप्त थियो, उनले प्रह्लादलाई जलाएर मार्ने योजना बनाइन् । होलिका प्रह्लादलाई लिएर आगोमा बसिन्, तर भगवान् विष्णुको कृपाले होलिका जलेर नष्ट भइन् र प्रह्लाद भने सुरक्षित रहेका थिए । यस घटनाले सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने परम्पराको सुरुवात भएको मानिन्छ । यसै कारण होलीको अघिल्लो रात 'होलिका दहन' गरिन्छ, जसमा असत्यको अन्त्य र सत्यमाथि जीतको प्रतीकस्वरूप आगो बालिन्छ ।

कृष्ण र राधा सम्बन्धी कथा
 
भगवान् कृष्ण र राधा को प्रेमसँग पनि होली  पर्व जोडिएर रहेको छ । भनिन्छ, भगवान् कृष्णको छाला गाढा निलो रङको थियो । एकदिन उनकी आमा यशोदाले उनलाई सल्लाह दिइन् कि उनले राधामाथि पनि रङ लगाइदिन सक्छन् । यसरी, कृष्णले राधा र गोपिनीहरूसँग रङको खेल खेले, र त्यसपछि होली रङ्गहरूको पर्व को रूपमा लोकप्रिय बन्दै गयो ।

यो पर्व मुख्य रूपमा भारत, नेपाल, र अन्य हिन्दू धर्मावलम्बी समुदायहरूले विशेष उत्साहका साथ मनाउने गर्दछन् । होली खेल्दा न जात हेरिन्छ, न धनी-गरिब । सद्भावको प्रतिविम्ब यो पर्व सभ्य र भव्य रहेको छ । होलीपर्व सभ्य र व्यवस्थित बनाउन सुरक्षा संयन्त्रलाई बलियो बनाइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार