काठमाडौं । सिरहामा विद्यालय शुल्क समयमै तिर्न नसक्दा एक परिवार नै कुटिएका छन् । जुन घटनामा ४ जना घाइते भएका छन्, २ जनाको अवस्था गम्भिर रहेको जनाइएको छ । जिल्लाको मिर्चैया नगरपालिकामा रहेको एक निजी विद्यालयका प्रिन्सिपलले विद्यालयको शुल्क भुक्तानमा ढिलाइ भएपछि एक परिवारमाथि कुटपिट गरेको हुन् ।
मिर्चैया नगरपालिका-१०, मथलेश्वरमा रहेको श्री राजदेवी इङ्ग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रामकुमार साहले समयमै विद्यालयको शुल्क दिन नसक्दा स्थानीय अशोक साहको परिवारमाथि कुटपिट गरेका हुन् ।
३ छोरी र १ छोरा रहेका अशोकको कान्छो छोरा नवीनकुमार साह सोही विद्यालयको युकेजीमा पढ्दैछन् । ५-६ हजार रुपैयाँजति शुल्क तिर्न बाँकी रहेको परिवारजनको भनाइ छ ।
अशोकले मथलेश्वर बजारमा पान पसल चलाइरहेका छन् । उनी पसलमै रहेका बेला बाँकी पैसा माग्न प्रिन्सिपल साह सोमबार दिउँसो साढे १२ तिर त्यहाँ पुगेका थिए । लकडाउनका कारण आर्थिक समस्या परेको भन्दै केही दिन समय मागेपनि प्रिन्सिपल साहले ‘अहिले नै पैसा दिनुपर्छ’ भन्दै अपशब्द प्रयोग गर्दै कुटपिटमा उत्रिएको पीडित अशोकले बताए ।
कुटपिट भइरहेको देखेपछि छुटाउन आउँदा अन्यपरिवारलाई पनि प्रिन्सिपल साहले कुटपिट गरेको जनाइएको छ । कुटपिटबाट उनको पत्नी सुनितादेवी साह, जेठी छोरी सरिता साह र माइली छोरी अञ्जली साह घाइते भएका छन् ।
कुटपिटबाट अशोक र उनकी छोरी सरिता गम्भीर भएकी छिन् । अशोकको टाउकोमा चोट लागेको छ भने छोरी सरिताको हात भाँच्चिएको र टाउको पनि फुटेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
गम्भीर रहेको दुवैलाई मिर्चैयामा प्राथमिक उपचारपछि विराटनगर रिफर गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले बताए । कुटपिटमा संलग्न प्रिन्सिपल साह फरार रहेको र खोजीकार्य भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।