आइतवार, श्रावण २४ गते २०८३

म्याकडोनाल्डको विज्ञापनले आफ्नो उपवास तोडेको भन्दै एक महिलाद्वारा मुद्दा दर्ता !

बुधवार , श्रावण २७, २०७८

काठमाडौं । रुसमा अनौठा घटनाहरु हुने गर्छन् । त्यस्तै एटा अनौठो घटना घटेको छ । खासमा कुरा के भने, एक कम्पनीको विज्ञापनका कारण आफ्नो व्रत तोडिएको भन्दै एक महिलाले विज्ञापन गर्ने कम्पनीविरुद्ध मुद्धा दर्ता गरेकी छन् । रुसमा म्याकडोनाल्ड कम्पनीको बर्गरको एउटा विज्ञापनले एकजना महिलाको धार्मिक उपवास नै तोडिदिएको उनले मुद्धामा उल्लेख गरेकी छन् ।

वास्तवमा फास्टफुडका विज्ञापनहरु कतिपय मानिसहरुको मन जित्न वा लोभ्याउन पर्याप्त हुन्छन् । सोसल मिडियामा आउने खानेकुराका तस्वीर तथा भिडियो हेरेरै धेरै मानिसहरु मुख मिठ्याउन थाल्दछन् र अनलाइनबाट यस्ता खानेकुरा मगाइ हाल्छन् ।

वास्तवमा ती रुसी महिलालाई पनि यस्तै भएको छ । बर्गरको लोभलाग्दो विज्ञापनका कारण आफुले मन थाम्न नसकेको र आफ्नो धार्मिक उपवास तोडिएको भन्दै ती महिलाले म्याकडोनाल्ड विरुद्ध मुद्दा हालेकी छिन् । म्याकडोनाल्डको यस्तो कार्य उपभोक्ता संरक्षण कानूनको उल्लंघन रहेको भन्दै उनले यस विषयमा छानविन गर्न पनि अदालतसँग माग गरेकी छिन् ।

क्रिस्चियन धर्मावलम्बीको धार्मिक पर्व लेन्टका अवसरमा उनले उपवास बसेकी थिइन् । तर ठूलो ब्यानरमा राखिएको म्याकडोनाल्डको विज्ञापनबाट लोभिँदा उनले बर्गर खान बाध्य भइन् र उनको उपवास जबर्जस्ती तोडियो ।

ती महिलाको नाम कसेनिया ओभचिन्निकोभा हो । पछिल्लो १६ वर्षदेखि उनले नियमित रुपमा लेन्ट पर्वका बेला पूरै एक महिनासम्म उपवास बस्ने गर्दथिन् । तर चिकेन नगेट सहितको म्याकडोनाल्डको चिजबर्गरको विज्ञापनका कारण उनले यो पटक मन थाम्न सकिनन् र नजिकैको म्याकडोनाल्डको आउटलेटमा गएर त्यो बर्गर किनेर खाइहालिन् । जसका कारण उनको उपवास भंग भयो ।

म्याक डोनाल्ड विरुद्ध मुद्दा हालेकी ती महिलाले म्याकडोनाल्डसँग जम्मा १४ डलर अर्थात् रुसी रुबल १ हजार क्षतिपूर्तिको माग गरेकी छिन् । उनको उक्त मुद्दामा अदालतले सुनुवाई गर्न भने बाँकी नै छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार