काठमाडौं । दक्षिण एसियाका दुई छिमेकीबीच बढेको तनावका कारण चर्चित क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग स्थगित भएको छ ।
भारतमा जारी लिग द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले स्थगित गर्ने निर्णय गरेको हो । यसको औपचारिक घोषणा गर्ने तयारी भएको एजेन्सीहरुले जनाएका छन् ।
बिहीबार जारी लिगअन्तर्गत पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच सुरु भइसकेको अवस्थामा बीचैमा खेल रोकिएको थियो । कश्मिरको पहलगाममा केही दिनअघि मुस्लिम चरमपन्थीहरुले दुई दर्जन बढी गैरमुस्लिम पर्यटकको हत्या गरेसँगै भारत र पाकिस्तानबीच तनाव सिर्जना भएको छ । त्यसको बदलामा आतंकवादी लुकेको भन्दै पाकिस्तानी भूमिमा भारतीय वायु सेनाले कारबाही चलाएको थियो ।
त्यसविरुद्ध पाकिस्तानी सेनाले पनि गोलावारी, ड्रोन र क्षेप्यास्त्र आक्रमण गर्न थालेपछि दुई देशको सीमा क्षेत्र तनावपूर्ण बनिरहेको छ । यसैलाई मध्यनजर गर्दै बदलिँदो परिस्थितिमा जारी लिगका बाँकी खेलहरु स्थगित गरिएका हुन् ।
बिहीबार रद्द भएको समेत गरी हालसम्म जारी लिगमा ५८ खेल सकिएका हुन् । अब ग्रुप स्टेजका १२ खेल बाँकी रहेका छन् ।