बिहिवार, आश्विन १५ गते २०८३

मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु, १ घाइते

बुधवार , जेठ १, २०८२

काठमाडौं । मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

वैवाहिक कार्यक्रम चलिरहेको ठाउँमा गीत गाइरहेका दुई महिलाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । गएराति रतुवामाई नगरपालिका-३ स्थित मिर्चाडाँगीमा वैवाहिक कार्यक्रम चलिरहँदा हावाहुरी चलेको थियो ।

हुण्डरीको कारण लच्किएको जग्गेको बाँसले हाइ टेन्सन लाइनमा छुँदा कार्यक्रम स्थलमा करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ । हावाहुरीको कारण घरमा गाडिएको बाँसको लिंगो हाइटेन्सन लाइनमा जोडिँदा दुर्घटना भएको प्रहरीको भनाई छ । करेन्ट लागेर रतुवामाई नगरपालिका वडा नम्बर-३ मिर्चाडाँगीका सतारुलाल गनगाईकी श्रीमती ७१ वर्षीया सूर्यदेवी गनगाई र जतरुलाल गनगाईकी श्रीमती वर्ष ७० की रामुदेवी गनगाईको मृत्यु भएको हो ।

करेन्ट लागेर अर्की ३० वर्षीय राधाकुमारी सिंह घाइते भएकी छिन् । उनको नगर अस्पताल झुर्कियामा उपचार गरिएको छ । रतुवामाई ३ मिर्चाडाँगीका मङ्गलकुमार सिंहका छोरा निरजकुमार सिंहको वैवाहिक कार्यक्रम चलिरहँदा घटना भएको हो ।

हरियो बाँसको लिंगोमा हाइ टेन्सन लाइनको कनेक्सन हुँदा विवाहको रमाइलो हेर्न जम्मा भएका मानिसमा करेन्ट प्रवाह भएको स्थानीयले बताएका छन् । मृतक महिलाको शव पोस्टमार्टमका लागि रङ्गेली अस्पतालमा राखिएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार