बुधवार, आश्विन १४ गते २०८३

जेठ १५ गते राजावादीको प्रदर्शनमा हाई अलर्टमा रहन आईजीपी थापाको निर्देशन

आइतवार , जेठ ५, २०८२

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले राजनीति व्यवस्था र संविधानविरोधी तत्व सल्बलाएको भन्दै यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिन निर्देशन दिएका छन् ।

आइतबार बिहान भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले जेठ १५ गते राजावादीले गर्ने भनेको प्रदर्शनमा हाइ अलर्ट (उच्च सतर्क) रहन निर्देशन दिएका हुन् । थापाले भने, ‘कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्त्व दिनुहोला ।’

उनले प्रदर्शनका क्रममा हुने कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य नहुने भन्दै त्यसका निम्ति सबै प्रहरी युनिटलाई तयारी हालतमा रहन निर्देशन दिएका छन् । पछिल्लो समय प्रहरी कर्मचारीबीच नै कुटपिटको घटना सार्वजनिक भइरहेको विषयमा उनले ड्यूटीको क्रममा वा कार्यालयको काममा पनि प्रहरी कर्मचारीले आपसमा झैझगडा गर्ने र हातपात गर्नेजस्ता अमर्यादित कार्य संगठनका लागि सह्य नहुने बताएका छन् ।

आईजी थापाले भने, ‘त्यसमाथि पनि पब्लिकको अगाडि ठूलो दर्जाको अफिसरले सानो दर्जाको कर्मचारीमाथि हातपात गर्नु एकदमै मर्यादाहीन र संगठनका लागि लज्जास्पद कुरा हो, ।’ गतसाता नागढुंगा चेकपोष्टमा ट्राफिक इन्स्पेक्टरले सिभिल पुलिसका जवानमाथि हातपात गरेको दृश्यले प्रहरी संगठन बदनाम भएको कुरालाई इङ्गीत गर्दै थापाले त्यस्तो निर्देशन दिएका हुन् ।

उनले भने, ‘गलत काम गर्ने कुनै पनि प्रहरी कर्मचारीलाई सजाय गर्ने संगठन विधिअनुसार कारवाही हुन्छ नै, अन दी स्पट त्यसरी हातपात नै गर्नु उचित काम होइन ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार