काठमाडौँ । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका इच्छाराज तामाङको कसुर सर्वोच्च अदालतबाट सदर भएको छ।
न्यायाधीशहरू नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले उक्त आदेश सदर गरेको हो। उक्त आदेश सर्वोच्चको शुक्रबारको इजलासले गरेको हो।
सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार ‘कानुन बमोजिम’ गर्न आदेश दिएको हो। यसअघि विशेष अदालतले सिभिल सेभिङ एण्ड क्रेडिट कोओपोरेटिभ लिमिटेडका सञ्चालक तामाङलाई दोषी ठहर गरी एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ बराबरको जरिवाना गरेको थियो।
त्यस्तै तीन वर्ष कैद सजाय समेत सुनाएको थियो। विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेजनारायण सिंह राई र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले २०८० माघ ७ गते तामाङलाई दोषी ठहर गरेको थियो। सोही इजलासले माघ २१ गते सजाय निर्धारण गरेको थियो।
उनीसँगै विशेष अदालतले सिर्जना शाक्य तामाङलाई पनि बिगो रकम एक अर्ब तीन करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ बराबरको जरिवाना र एक वर्ष ६ महिना कैद ठहर गरेको थियो।