बुधवार, आश्विन १४ गते २०८३

चित्लाङबाट सर्लाही जाँदै गरेको वीङ्गर भ्यान दुर्घटना हुँदा १४ जना घाइते

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । मकवानपुरको उत्तरी क्षेत्र चित्लाङबाट सर्लाहीको लालबन्दीतर्फ जाँदै गरेको वीङ्गर भ्यान गाडी त्रिभुवन राजपथ सडकखण्डमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

आज दिउँसो भीमफेदी गाउँपालिका-९ त्रिभुवन राजपथको छैसठ्ठी मोडमा प्रदेश २-०३-००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटना भएको गाडी सल्लाको रूखमा अड्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी भ्यानमा सवार १४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको छ ।

घटनास्थलमा रहेको प्रहरी टोलीका अनुसार भ्यान ब्रेक फेल भएर दुर्घटना भएको बताएका छन् । घाइतेहरूको उद्दारमा जिल्ला ट्राफिक, इलाका प्रहरी कार्यालय पालुङ, भीमफेदी, प्रहरी चौकी भैंसे, सिमभज्याङ २५ जना प्रहरी परिचालन भएका थिए ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार