बुधवार, आश्विन १४ गते २०८३

जनआन्दोलनमा सहकार्य गर्नका लागि रास्वपालाई राप्रपाको पत्र

बुधवार , जेठ ८, २०८२

काठमाडौं । वर्तमान व्यवस्था विरोधी समूह ’संयुक्त जनआन्दोलन समिति’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग आन्दोलनमा सहकार्यका लागि औपचारिक प्रस्ताव अघि सारेको छ। 

समितिका संयोजक नवराज सुवेदीले रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई सम्बोधन गर्दै जेठ ६ गते पत्र पठाएका हुन्।

पत्रमा समितिले जेठ १५ गतेदेखि देशव्यापी जनआन्दोलन सुरु गर्न लागेको उल्लेख गर्दै, हालको राजनीतिक व्यवस्थाले जनताको सुशासन र समृद्धिको चाहना पुरा गर्न नसक्ने उल्लेख छ । यस्तै राष्ट्रिय पहिचान, धर्म र संस्कृतिको रक्षा गर्न पनि नसकेको तर्क गरिएको छ।

संयुक्त जनआन्दोलन समितिले रास्वपा सभापति रवि लामिछानेले हालैको अभिव्यक्तिमा न्यायपालिकाप्रति आशंका व्यक्त गरेकाले रास्वपाको पनि वर्तमान व्यवस्थाप्रति असन्तुष्टि रहेको निष्कर्ष निकालेको छ। सोही आधारमा समितिले सहकार्यका लागि साझा समझदारीको सम्भावना रहेको पत्रमा विश्वास व्यक्त गरेको छ।

संयुक्त जनआन्दोलन समितिले संवैधानिक राजसंस्था, सनातन हिन्दू अधिराज्य र बहुदलीय लोकतन्त्रलाई पुनस्र्थापनाको लक्ष्यसहित जेठ १५ देखि देशभर आन्दोलन सुरु गर्ने तयारी गरिरहेको छ। यस क्रममा विभिन्न दल र समूहहरूसँग सहकार्यको पहल जारी राखिएको समितिको भनाइ छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार