काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले साउदी अरबको मक्कामा हजका लागि प्रस्थान गर्ने नेपाली मुस्लिम हज यात्रीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाइ गरेका छन्।
मक्कामा हज गर्न नेपाली मुस्लिमहरू साउदी अरब पुग्ने भएकाले आफूले विमानस्थलमै पुगेर उनीहरूलाई बिदाइ गरेको मन्त्री यादवले बताए।
मन्त्री यादव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर फूलमाला, खादा लगाई बिदाइ गर्नुका साथै हज यात्रुहरूलाई सफल यात्रा, धार्मिक आस्था र मानवताको प्रेरणादायी सन्देश लिएर फर्किन शुभकामना समेत व्यक्त गरेका थिए।
मुस्लिम धर्मावलम्बीको आस्था र भरोसाको रूपमा चिनिने साउदीमा रहेको मक्का, मदिनामा वर्षैपिच्छे हजका लागि लाखौँ हजयात्रीहरू जाने गर्छन्।
नेपालबाट पनि सन् २०२५ को हजका लागि एक हजार १ सय ७१ जना जाने जनाइएको छ। देशैभरि छरिएर रहेका मुस्लिम नेपालीहरूलाई जिल्लास्तरीय हज कमिटीले मक्का जानेहरूलाई सिफारिस गरेर पठाएपछि केन्द्रीय हज कमिटीले कोटाअनुसार यात्राको प्रबन्ध मिलाउने व्यवस्था गर्छ।