मंगलवार, आश्विन १३ गते २०८३

भारतमा कोरोना संक्रमणका कारण २ दिनमा २१ संक्रमितको मृत्यु

आइतवार , जेठ १९, २०८२

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमणकै कारण भारतमा पछिल्ला २ दिनमा मात्रै २१ जनाको मृत्यु भएको छ ।

कोरोनाका कारण पछिल्लोपटक शनिबार बेंगलुरुमा ६३ वर्षीय पुरुष र दिल्लीमा एक ६० वर्षीय पुरुषकै मृत्यु भएको हो । अहिले भारतमा सक्रिय संक्रमितको संख्या ३ हजार ७८३ पुगेको छ । यसमा सबैभन्दा बढी केरलामा १ हजार ४ सय जना संक्रमित रहेका छन् । अनि महाराष्ट्रमा ४८५ र दिल्लीमा ४३६ कोरोनाका बिरामी छन् ।

पछिल्लो ४८ घण्टामा मात्र हजारभन्दा बढी नयाँ संक्रमित थपिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतको स्वास्थ्य विभागका अनुसार जनवरीदेखि अहिलेसम्म कोरोनाका कारण २८ जनाको मृत्यु भइसकेको छ । तीमध्ये २१ जनाको मृत्यु पछिल्ला २ दिनमा भएको हो ।

यसैबीच कर्नाटक सरकारले सूचना जारी गरी भीडभाड भएका ठाउँमा मास्क लगाउन, शारीरिक दूरी कायम राख्न र सरसफाइमा विशेष ध्यान दिन मानिसहरूलाई आग्रह गरेको छ। ज्वरो, खोकी, छाती दुख्ने वा सास फेर्न गाह्रो भएमा तुरुन्तै परीक्षण गर्न भनिएको छ ।

छिमेकी मुलुक र खुला सीमा भएका कारण भारतमा कोरोना संक्रमण बढ्दै जाँदा स्वाभाविक रूपमा नेपालमा पनि जोखिम बढेको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार