काठमाडौँ । अस्ट्रियाको एक माध्यमिक विद्यालयमा भएको गोली काण्डमा ११ जनाको मृत्यु भएको छ।
मंगलबार अस्ट्रियाको ठूलोमध्येको सहर ग्राजमा रहेको बर्ग ड्रायर्सुट्जेनगासे स्कुलमा भएको गोलीकाण्डमा ११ जनाको मृत्यु भएको हो। मंगलबार बिहान १० बजे उक्त विद्यालयमा प्रवेश गरी २१ वर्षीय युवकले अन्धाधुन्ध गोली चलाएका थिए। दुई वटा कक्षाकोठामा गोली चलाएर उनले १० जनाको हत्या गरेको धेरै विद्यार्थीलाई घाइते तुल्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ।
आर्टुर ए नाम गरेका एक ती विद्यार्थी एउटा सटगन र एउटा पेस्तोल बोकेर कक्षाकोठा छिरेका थिए। त्यसपछि अन्धाधुन्ध गोली चलाउन थालेका थिए।
विद्यालयमा गोली चलेपछि घटनास्थलमा तत्काल ३०० जनाभन्दा बढी प्रहरी र एम्बुलेन्सहरू परिचालन गरिएका थिए। घाइतेहरूलाई तत्काल अस्पताल पुर्याएको भए पनि एक जनाको उपचारकै क्रममा मृत्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
गोली चलाउने युवक पछि शौचालयमा मृत भेटिएका थिए। ९ जनाको घटनास्थलमै हत्या गरेपछि उनेल आफूमाथि गोली चलाएका थिए भनेर अन्तर्राष्ट्रियस समाचार संस्था रोयटर्सले जनाएको छ। उनी मृत भेटिएको ठाउँबाट २ वटा हतियार र एउटा चिर्कटो भेटिएको छ। जसमा उनले आफ्ना अभिभावकहरूलाई अलविदा भनेर लेखेको बताइएको छ।
प्रहरी अनुसन्धानका अनुसार घटनामा उनी एक्लै संलग्न थिए। उनले गोली चलाउनुको कारण र उद्धेश्य अझै नखुलेको रोयटर्सले जनाएको छ। स्थानीय सञ्चारमाध्यमहरूले सो विद्यालयमा पढ्दा उनीमाथि होच्याउने, जिस्क्याउने गरेर उनीमाथि अपमान गरिएको भन्ने उल्लेख गरिएको छ।
प्रहरीले यसबारेमा थप अनुसन्धान गरिरहेको छ। अस्ट्रियामा यो अहिलेसम्मकै ठूलो गोलीकाण्ड भनिएको छ।