आइतवार, आश्विन १८ गते २०८३

उच्च अदालतमा न्यायाधीश नियुक्त गर्न आज न्याय परिषद्को बैठक बस्दै

बुधवार , आषाढ ३२, २०८२

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आर्थिक वर्षको अन्त्यसँगै व्यापक सरुवा र नियुक्तिको गृहकार्य गरेका छन् ।

उच्च अदालतमा न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक आज बस्दै छ । न्याय परिषद्ले बढीमा उच्च अदालतमा २ जना मुख्य न्यायाधीशसहित २६ दरबन्दी रिक्त रहेका छन् । श्रीकान्त पौडेल र शान्ति सिंह थापा मुख्य न्यायाधीशबाट सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएपछि उक्त २ वटा रिक्त पदपूर्ति गरिँदै छ ।

मुख्य न्यायाधीशका लागि सम्भावित उम्मेदवारमध्ये दिनेशप्रसाद यादव र कृष्णलाल भट्टराई वरीयतामा अगाडि छन् । यादव हाल महेन्द्रनगर उच्च अदालतमा कार्यरत छन् भने भट्टराई सुर्खेत उच्च अदालतमा छन् । एक जना महिला बनाउनुपर्ने मत प्रभावी भएमा यमुना भट्टराईले पनि पालो पाउन सक्छिन् । उनले हाल हेटौँडा इजलासको नेतृत्व गरिरहेकी छन् ।

कार्यसम्पादनका आधारमा मुख्य न्यायाधीश बनाउने हो भने टेकनारायण कुँवरले पनि मौका पाउन सक्छन् । उनले विशेष अदालतको कार्यसम्पादनमा अभूतपूर्व गति प्रदर्शन गरेका छन् । केही समयअघि उनको नाम सर्वोच्च अदालतकै न्यायाधीशको उम्मेदवारका रूपमा पनि चर्चा भएको थियो ।

उच्च अदालतमा २ जना मुख्य न्यायाधीश बनाउँदा रिक्त न्यायाधीश पद २६ हुन्छ । ती रिक्त पदमा पनि आजै नियुक्तिको प्रयास भइरहेको छ । यद्यपि, कानुन व्यवसायीबाट लैजाने नाममा सहमति हुन नसके कर्मचारी र जिल्ला अदालतका न्यायाधीशको कोटाबाट मात्र भए पनि नियुक्ति हुन सक्ने न्याय परिषद्का अधिकारीको भनाइ छ ।

उनका अनुसार, न्याय परिषद्का एक जना सदस्य दामोदर खड्का विदेश जान लागेकाले पनि तत्कालै न्यायाधीश नियुक्तिको टुंगो लगाउनुपर्ने बाध्यता छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार