आइतवार, श्रावण २४ गते २०८३

बुटवलकी रक्षा पन्तले जितिन ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधि

आइतवार , कार्तिक ३०, २०८२

काठमाडौं । विवाहित महिलाहरूको ठूलो सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधि बुटवलकी रक्षा पन्तले जितेकी छन् ।

राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा शनिबार राति सम्पन्न अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै रक्षाले उपाधि जितेकी हुन् । उनी अभिनेत्री सुरक्षा पन्तकी बहिनी हुन् । बहिनीले उपाधि जितेपछि सुरक्षाले सामाजिक सञ्जालमा बधाईसमेत दिएकी छन् । फिनालेमा प्रमुख निर्णायक नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले अन्तिम प्रतिस्पर्धामा सोधेको ‘समाजमा विद्यमान विकृतिमध्ये तपाईं के हटाउन चाहनुहुन्छ ?’ भन्ने निर्णायक प्रश्नको सटिक जवाफ दिएर रक्षाले सो उपाधि हासिल गरेकी हुन् ।

‘केडी फोटोग्राफी मस्ट फोटोजेनिक’ उप–उपाधि विजेतासमेत बनेकी उनले शीर्ष उपाधिसँगै स्कुटरका साथ अमेरिकामा हुने ‘मिसेस वर्ल्ड २०२६’ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर पनि प्राप्त गर्ने भएकी छन् । प्रतियोगितामा सञ्जु भट्ट ‘मिसेस नेपाल इन्टरनेशनल’ भइन् । उनले ‘सेन्ट्रल फेसन स्कुल फेसन आइकन’ को उप–उपाधिसमेत जितिन् ।

त्यस्तै, दीपिका तामाङ ‘एमएस नेपाल इन्टरनेशनल’ को उपाधि विजेता भएकी छन् । ‘मिसेस नेपाल वर्ल्ड’ मै विद्या चौहान ‘फस्ट रनर्सअप’ का साथमा ‘भ्युवर्स च्वाइस’ र ‘फेसबुक च्वाइस’, एलिना केसी ‘सेकेन्ड रनर्सअप’का साथमा ‘क्युट केयर बेस्ट हेयर’ र निर्मला सुनुवार ‘थर्ड रनर्सअप’ का साथमा ‘सावित्री कञ्चनजङ्गा बेस्ट डान्सर’ को विजेता भएका छन् । उनीहरूले उपाधिसँगै विभिन्न ‘गिफ्ट ह्याम्पर’ प्राप्त गरेका छन् ।

‘मिसेस नेपाल इन्टरनेशनल’ विजेताले सिंगापुरमा हुने ‘मिसेस इन्टरनेशनल’ र ‘एमएस नेपाल इन्टरनेशनल’ विजेताले सिंगापुरमै हुने ‘एमएस इन्टरनेशनल’ प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउने जनाइएको छ ।

सोही अवसरमा अभिनेत्री, कथाकार तथा गीतकार पूजा चन्दलाई झन्डै साढे तीन दशकदेखि नेपाली फिल्मका साथमा कला, संस्कृति र साहित्यको क्षेत्रमा योगदान पुर्‍याएबापत मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२५’ बाट सम्मानित गरियो । सम्मानअघि अभिनेत्री चन्दलाई समर्पण गर्दै मोडलद्वय एसराज गराच र ऋचा थापाले कोरस कलाकारका साथमा उनका गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

रिबन इन्टरटेनमेन्टद्वारा आयोजना गरिएको प्रतियोगितामा विभिन्न शीर्षकमा उपाधि पनि प्रदान गरिएको छ । प्रतियोगितामा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, अभिनेता, रंगकर्मी तथा फिल्म निर्देशक सरोज खनाल, अभिनेत्री सनी रौनियार, ‘मिसेस नेपाल वर्ल्ड २०२३’ पृथिविया थापा, ग्ल्यामर फोटोग्राफर राजभाइ सुवाल, अभिनेता, कोरियोग्राफर, लेखक तथा फिल्म निर्माता गजित विष्ट र जनरल फिजिसियन डा. कर्ट निर्णायक रहेका थिए ।

सेसेमी लिम्बुले सञ्चालन गरेको प्रतियोगितामा कोरियोग्राफी अश्विनीकान्त झा र डान्स कोरियोग्राफी सन्दीप भुजेलले गरेका थिए भने प्रतियोगिताको संयोजन सम्राट शाह, अञ्जन परियार र गंगा महर्जनले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार