यसअघि प्रशासनले दिउँसो १ बजेदेखि निषेधाज्ञा जारी गरेको भए पनि स्थिति थप जटिल बनेपछि कर्फ्यूकै निर्णय लिनुपरेको प्रशासनको भनाइ छ।
वीरगञ्ज महानगरपालिकाका चार किल्लाभित्र सभा, जुलुस र भेला गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। पूर्व बाइपास सडक खण्डदेखि पश्चिम सिर्सिया पुल र उत्तर पावर हाउस चोकदेखि दक्षिण शंकराचार्य गेटसम्म कर्फ्यु लगाउने निर्णय भएको हो।
दुई दिनदेखि धार्मिक र सामाजिक विषयलाई लिएर दुई पक्षबीच वीरगञ्जमा लगातार प्रदर्शन भइरहेका छन्। आइतबारदेखि सुरु भएको आन्दोलनका कारण जनजीवन प्रभावित भएको छ भने नगर क्षेत्र अशान्त बनेको छ। सम्भावित झडप र क्षति रोक्न सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ।
प्रशासनले सर्वसाधारणलाई कर्फ्यूको पालना गर्न र संयमता अपनाउन आग्रह समेत गरेको छ।