काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सरकारले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन कुनै कमी नराख्ने बताएका छन् ।
निर्वाचनको तयारीका विषयमा स्थलगत अनुगमन गर्न बागलुङ गएका उनले आमनागरिकले शान्तिपूर्ण वातावरणमा मतदान गर्ने व्यवस्था सरकारले बनाइरहेको बताएका छन् । अर्थमन्त्री खनालले निर्धक्क भएर चुनावको तयारीमा जुट्न सबैलाई निर्देशन दिँदै नागरिकले भयरहित वातावरणमा मताधिकार प्रयोग गर्न पाउनेमा विश्वस्त रहन आग्रह गरेका छन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ, जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयको अनुगमन गरेका थिए ।
अनुगमनपछि अर्थमन्त्री खनालले जिल्लास्थित सुरक्षा समितिको बैठकमा निर्वाचनको समयमा दिइने सुरक्षा व्यवस्था, प्रहरी परिचालनलगायत विषयमा जानकारी लिएका छन् । अर्थमन्त्री खनालले निर्वाचनमा स्रोत अभाव नहुने बताएका छन् । उनले भने, ‘निर्वाचन सफल बनाउन् सबैको कर्तव्य हो, सुरक्षा व्यवस्थादेखि आचारसंहिता कार्यान्वयन गर्नु–गराउनु हाम्रो दायित्व हो, सरकारले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन कुनै कमी राख्दैन । केही समस्या भए तुरुन्तै जानकारी भएमा समाधान हुनेछ, यसका लागि आपसी समन्वय र सहकार्य आवश्यक छ । नागरिकले मतदान सहज वातावरणमा गर्नुपर्यो ।’
अर्थमन्त्री खनालले जिल्लाको समग्र सुरक्षाको अवस्था, मतदान केन्द्रको जानकारी र आचारसंहिता कार्यान्वयनको अवस्थाका विषयमा जानकारी लिएका थिए । आजै बागलुङ गएका अर्थमन्त्री खनालले सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका अधिकारीसँग निर्वाचनको तयारी र जिल्लाको वस्तुअवस्थाका विषयमा जानकारी लिएर निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं २ बुर्तिबाङको अनुगमनका लागि गएका छन् । उनले निर्वाचनको समयमा आउने गलत र भ्रामक सूचनालाई सम्पादन गरेर चनाखो भएर बस्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
मन्त्री खनाललाई मुख्य निर्वाचन अधिकृत अधिकारी, प्रमुख जिल्ला अधिकारी आचार्य, प्रहरी उपरीक्षक तिलक भारतीलगायतले चुनावको तयारीका साथै यहाँ आचारसंहिता उल्लङ्घन नभएको बारेमा अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।