काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा–५ र सर्लाही–४ मा आफ्नै पार्टीका उम्मेदवार जित्ने दाबी गरेका छन् ।
शुक्रबार नेकपाको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले यस्तो दाबी गरेका हुन् । प्रचण्डले भने, ‘ठुला नेताहरू भिडेको समाचार तपाईँहरूले मिडियामा देख्नुहुन्छ, झापा–५, सर्लाही–४ को चर्चा जताततै देख्नुहुन्छ, आज बिहान मात्रै ती ठाउँका स्वतन्त्र बुद्धिजीवी र पार्टीका साथीहरू म कहाँ आउनुभएको थियो ।’
उनीहरूले आफूलाई तथ्यांक देखाएर दुवै क्षेत्रमा नेकपाका उम्मेदवारले चुनाव जित्ने दाबी गरेको उनले बताएका छन् । प्रचण्डले भने, ‘ती ठाउँमा पनि जनताले भोट हाल्ने त नेकपामै हो भन्दै छन् रे । तर सामाजिक सञ्जालमा हाम्रा मान्छेको नाम पनि आउँदैन ।’ उनले नाम नआए पनि जनताको मनमा छिरिसकेकाले आफ्ना उम्मेदवार जितेर देखाउने बताएका छन् । दुवै क्षेत्रमा यस पटक ‘हाई भोल्टेज’ प्रतिस्पर्धा छ ।
झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) भिडेका छन् भने सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार छन् । गगनसँग रास्वपाबाट अमेरेशकुमार सिंह प्रतिस्पर्धी छन् । उनी सोही क्षेत्रबाट लगातार तीन चुनाव जितिसकेका छन् ।
उता नेकपाले झापा–५ मा युवा नेता रञ्जित तामाङलाई उठाएको छ भने, सर्लाही–४ मा रजनिस राय उम्मेदवार रहेका छन् ।