बिहिवार, आश्विन १५ गते २०८३

प्रहरी संगठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण छ : गृहमन्त्री अर्याल

आइतवार , माघ २५, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी संगठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण भएको बताएका छन् ।

नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२ को आज उद्‌घाटन गर्दै उनले जेनजी प्रदर्शनका कारण भौतिक र मानसिक रूपले कमजोर बनेका प्रहरीको मनोबल उच्च बनाउन यस्ता सम्मेलनले सहयोगी भूमिका खेल्ने बताएका छन् । आम नागरिकको अपेक्षाअनुसार प्रहरी संगठन बनाउन यस्ता सम्मेलनले सहयोग पुग्ने उनको भनाइ रहेको छ । गृहमन्त्री अर्यालले सम्मेलनबाट आएका राय सुझावलाई समेटेर अगाडि बढ्न गृह मन्त्रालयको साथ र सहयोग रहने बताएका छन् । प्रहरी व्यवस्थापन र परिचालनमा देखिएका समस्याको सम्मेलनमा गहन छलफल हुने उनले विश्वास लिएका छन् ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रविधिको प्रयोगसँगै पछिल्लो समय बढ्दै गएका विभिन्न खालका अपराधलाई नियन्त्रण गर्नका लागि यस्ता सम्मेलनले सहयोग पुग्ने बताए । उनले भने, ‘परम्परागत अपराधसँगै सङ्गठित अपराध, साइबर अपराध, अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधले मुलुक र समाज जटिल बन्दै गएको छ, यसको रोकथामका लागि सम्मेलनमा गहन छलफल हुनेछ ।’

उनले समाजमा हुने अपराध नियन्त्रणका लागि विषय विज्ञको राय र सुझाव लिन सम्मेलनको आयोजना गरिएको बताएका छन् । दुई दिनसम्म चल्ने सम्मेलनमा समाजमा हुने विभिन्न किसिमका अपराध र यसको नियन्त्रणका लागि अपनाउनुपर्ने कदमबारे छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार