काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्तासँगै सातै प्रदेशका उम्मेदवारलाई भेट्न सडक यात्रामा निस्केका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) अहिले घरदैलो अभियानमा फर्किएका छन् ।
माघ ६ गते झापा(५ बाट उम्मेदवारी दर्ता गरेसँगै उनी चुनावी यात्रामा निस्केका थिए । केही दिन झापाकै विभिन्न क्षेत्रमा चुनावी यात्रा गरेका थिए । गाडीबाटै हात हल्लाउँदै हिडेका उनले रास्वपाका उम्मेदवारसँग मात्रै भेटघाट र कुराकानी गरेका थिए । एक साता पूर्वी नेपालमा बिताएका उनी त्यसपछि मधेसको यात्रा गरेका थिए । मधेसपछि सुदूरपश्चिम र कर्णालीको यात्रा गरेका उनले कतै पनि मतदातासँग संवाद गरेका थिएनन् । कर्णालीबाट फर्केपछि लुम्बिनी र गण्डकी प्रदेशमा पुगेका थिए ।
गण्डकीबाट बागमती फर्किँदा पनि मतादातासँग कुराकानी गरेको देखिएका थिएनन् । उनले सबै ठाउँमा रास्ववा उम्मेदवारसँग मात्रै छलफल गरेका थिए । उनीहरूसँग चुनावी रणनीतिबारे जानकारी लिएका थिए । अहिले भने उनी पहिलो जस्तो गाडीमा सडक यात्रा छोडेर घरदैलोमा लागेका छन् । दुई दिनदेखि झापा–५ मै घरदैलो र मतदाता भेटघाट गरिरहेका छन् । सोमबार बिहानैदेखि आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम चलिरहेको शाहको सचिवालयले जनाएको छ ।
उनले १५ ठाउँमा मतदातासँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ । बिहानै कमल गाउँपालिकामा घरदैलो र मतदाता भेटघाट गरेका छन् । सानो केर्खा चोकबाट सुरु भएको उनको घरदैलो सिंघदेबी मन्दिर, केर्खा बजार, केराधाप, क्याम्पा, सुनहरास्थित उराउ, संथाल बस्ती, ढ्यांग्री गाउँ पुगेको थियो । त्यस्तै, शरंग्पडा बजार, बाह्रबिघा मन्दिर, नहरचोक, शान्तिचोक, सुकुमबासी बस्ती, समैगडा, छलफल चोक र भुत्लुंग स्कूल क्षेत्रमा घरदैलो गर्न लागेका छन् ।
घरदैलो कार्यक्रममा पनि उनले प्रायः दोहोरो कुराकानी गरेका छैनन् । मतदातासँग हात मिलाउँदै उनीहरूकै कुरा सुनिरहेका छन् । कतैकतै मात्रै थोरै बोलेका छन् । अघिल्लो चरणको सडक यात्राका क्रममा मतदाता चिडाएको थिए । अहिले मतदाता रिझाउन घरदैलो र भेटघाट थालिएको जनाइएको छ ।
झापा–५ मा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रसकी मंधरा चिमरिया, नेकपाका रञ्जिच तामाङ, राप्रपाका लक्ष्मीप्रसाद संग्रौलालगायत राजनीतिक दल र स्वतन्त्र गरी २४ उम्मेदवार प्रतिस्पर्धामा छन् ।