काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब सिलिन्डर पनि नचाहिने गरी घरघरमा पाइपबाट ग्यास पुर्याउन सकिने बताएका छन् ।
सोमबार झापामा घरदैलोका क्रममा मतदातालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ग्यासको वितरणबारे बोलेका हुन् । नेपालमै खाना पकाउने ग्यास निस्किन लागेको बताएका छन् । दैलेखको ग्यास उत्खनन् बन्द गरिएकोमा असन्तुष्टि जनाउँदै काम थाल्नुपर्ने बताएका छन् । अध्यक्ष ओलीले भने, ‘अहिले ग्यास निकाल्न छाडेर ताला लगाएर राखेको छ । त्यो ग्यास निकाल्नुपर्छ ।’
उनले दैलेखमा ग्यास निकाल्न सुरु गरेपछि विदेशबाट आयात रोकिने बताएका छन् । अध्यक्ष ओलीले भने, ‘पानीजस्तो ट्यांकमा राख्न सकिन्छ र घरघरमा पाइपबाट पुर्याउन सकिन्छ । त्यसका लागि कुनै सिलिन्डर पनि चाहिँदैन ।’ यसअघि गुइँठा बाल्ने विषयमा दिएको अभिव्यक्तिका विषयमा पनि उनले प्रस्टीकरण दिएका छन् । त्यसमा आफूले अपमान गर्न नखोजेको आसय प्रकट गरेका छन् ।
अध्यक्ष ओलीले भने, ‘संस्कृति बचाउनुपर्छ, गरिबी हटाउनुपर्छ, मान्छेहरूलाई अलमलमा पारेर, हाम्रो बेइज्जत गर्यो, हामीलाई गुइँठा बाल्ने भन्यो भनेर भन्छन् । दाउरा पनि बाल्ने होइन, अब बिजुली बाल्नेतिर पुग्नुपर्छ ।’
केही दिनदेखि उनी झापा–५ मा घरदैलो अभियानमा व्यस्त रहेका छन् । उनी यो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदावर बनेका छन् ।