काठमाडौं । आगामी प्रतिनिधि सभाको चुनावका लागि निर्वाचन आयोगले फागुन पहिलो सातादेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
आउँदो फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । त्यसका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम निर्वाचन आयोगबाट मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भइसकेको भट्टराईले बताए ।
यस कार्यक्रमअनुसार, देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक(एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिने भएको छ । त्यसरी खटिएका स्वयंसेवकले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी गराउनेछन् ।
हरेक निर्वाचनमा आयोगले सबै स्थानीय तहमा एक–एक जना सम्पर्क व्यक्ति तोक्ने गरेको छ। यस पटक पनि सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ताको रूपमा तोकेको छ ।
मतदाता शिक्षा अनुगमनकर्ता र स्वयंसेवकका लागि जिल्लास्तरीय तथा स्थानीय तहस्तरीय तालिम तथा अभिमुखीकरण कार्यक्रम माघको अन्तिमसम्म सकिने उनले बताएका छन् ।