बिहिवार, आश्विन १५ गते २०८३

भ्रष्टाचार नियन्त्रणका लागि हामी कहाँ पर्याप्त संरचना छन् : प्रधानमन्त्री कार्की

बुधवार , माघ २८, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणका लागि हामी कहाँ पर्याप्त संरचना भएको बताएकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकार र कार्यकारी अङ्गकै भएको बताइन् । कुनै पनि कार्यालयमा हुने अनियमितताका लागि सोही कार्यालयका प्रमुखलाई नै जिम्मेवार बनाइनुपर्ने उनको भनाइ थियो । 

उनले भनिन्, ‘भ्रष्टाचार नियन्त्रणका लागि हामी कहाँ पर्याप्त संरचना छन्, पर्याप्त कानूनी र नीतिगत व्यवस्था पनि छन् । तर पनि किन हामी कहाँ भ्रष्टाचार अपेक्षाकृत नियन्त्रण हुन सकेको छैन्, भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारको नै हो, कार्यकारी अङ्गको नै हो । त्यसमा पनि प्रत्येक निकाय र कार्यालयका प्रमुख नै आफ्नो संस्था र संस्था भित्रको भ्रष्टाचार नियन्त्रणको जिम्मा लिनुपर्दछ ।’

उनले भ्रष्टाचार नियन्त्रणका लागि कार्यकारी अङ्ग भन्दा बेग्लै संरचनातिर मुख ताकेर बस्दासम्म सुधार गर्न नसकिने बताइन् । जेनजी युवाको आन्दोलनको जगमा बनेको वर्तमान सरकारले सार्वजनिक सेवालाई नागरिकमैत्री बनाउन राहदानी र नागरिकता जस्ता सेवामा सरलीकरण गरेको उनको जिकिर छ । 

उनले भनिन्, ‘जबसम्म हामी भ्रष्टाचार नियन्त्रणका लागि कार्यकारी अङ्गभन्दा बेग्लै संरचनातिर मुख ताकेर बस्छौँ, तबसम्म आफू भित्र चाहेको सुधार गर्न सक्ने छैनौँ, प्रत्येक कार्यालयमा हुने भ्रष्टाचार र घुसखोरीका लागि उक्त कार्यालयको प्रमुख नै जिम्मेवार हो । यो मान्यता, चेतना र जिम्मेवारीको वोध प्रत्येक राष्ट्रसेवक कर्मचारी, राजनीतिक नेतृत्व र अन्य सरोकारवालामा पनि हुन जरुरी छ ।’

आगामी फागुन २१ गते हुने निर्वाचनमा स्वच्छ छवि भएका प्रतिनिधिहरू छनोट गरी सदाचारको महाअभियान सफल पार्न उनले सबैमा आग्रह गरिन् । निर्वाचनलाई मुलुकमा सदाचार र सुशासन स्थापनाको ऐतिहासिक महाअभियानका रूपमा लिनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार