बिहिवार, आश्विन १५ गते २०८३

चुनावलाई सदाचार स्थापनाको एउटा महाअभियानको रूपमा लिऔँ : प्रधानमन्त्री कार्की

बुधवार , माघ २८, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई पनि मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानको रूपमा लिनुपर्ने बताएकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।

आगामी फागुन २१ गते हुने निर्वाचनमा स्वच्छ छवि भएका प्रतिनिधिहरू छनोट गरी सदाचारको महाअभियान सफल पार्न उनले सबैमा आग्रह गरिन् । निर्वाचनलाई मुलुकमा सदाचार र सुशासन स्थापनाको ऐतिहासिक महाअभियानका रूपमा लिनुपर्ने उनको भनाइ थियो । निर्वाचनले मुलुकको राजनीतिक दिशा र भविष्यलाई नयाँ मोड दिने अपेक्षा गरेकी छन् ।

देशको नीति निर्माण गर्ने सर्वोच्च निकाय प्रतिनिधि सभालाई योग्य, नैतिकवान र भ्रष्टाचार विरुद्ध स्पष्ट अडान भएका जनप्रतिनिधिको थलो बनाउन जरुरी रहेको उनले बताइन् । उनले भनिन्, ‘सबैलाई म के आग्रह गर्न चाहन्छु भने आउँदो फागुन २१ को निर्वाचनलाई पनि मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानको रूपमा लिऔँ । स्वच्छ छवि र भ्रष्टाचार विरुद्धको प्रस्ट प्रतिवद्धता भएका जनप्रतिनिधिको थलो प्रतिनिधि सभालाई बनाऔँ ।’

विगतका वर्षहरूमा देखिएका राजनीतिक अस्थिरता र भ्रष्टाचारका विभिन्न प्रकरणले सर्वसाधारणमा केही निराशा पैदा गरेको भए पनि आगामी निर्वाचनले नयाँ आशाको सञ्चार गरेको उनको भनाइ थियो ।

निर्वाचनलाई केवल मतदानको प्रक्रिया मात्र नभई राज्य संयन्त्रलाई शुद्धीकरण गर्ने एउटा महत्त्वपूर्ण अभियानको रूपमा लिनुपर्ने प्रधानमन्त्री कार्कीले बताइन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार