काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विश्व शक्ति राष्ट्रहरूको प्रतिस्पर्धामा नेपालजस्तो सानो मुलुक पिल्सिन सक्ने खतरा औंल्याएका छन् ।
बागलुङको बुर्तिबाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भूराजनीतिक द्वन्द्वप्रति संकेत गर्दै साँढेको जुधाइमा बाच्छाको मिचाइ हुन नदिन नेतृत्व सचेत रहनुपर्ने बताएका छन् । सम्बोधनका क्रममा संयोजक प्रचण्डले विश्व राजनीति नयाँ र संवेदनशील चरणमा प्रवेश गरेको उल्लेख गरेका छन् । नेपालको प्राकृतिक स्रोतसाधनभन्दा पनि यसको विशिष्ट भूगोललाई प्रयोग गरेर विदेशी शक्तिहरूले अन्यत्रको द्वन्द्व अघि बढाउन सक्ने जोखिम बढेको उनको भनाइ थियो ।
प्रचण्डले भने, ‘नेपालको खनिज वा स्रोतसाधनभन्दा पनि यसको भूगोल अन्यत्रको द्वन्द्व अघि बढाउन प्रयोग हुन सक्छ । युक्रेन युद्ध र भेनेजुएलाका घटनाक्रम हाम्रा लागि पाठ हुन सक्छन्, शक्ति राष्ट्रहरूको टकरावमा हामी फस्नु हुँदैन, साँढेको जुधाइँमा बाच्छाको मिचाइँ नहोस् भन्ने चिन्ता र सजगता हामीमा छ ।’ संयोजक प्रचण्डले राजनीतिक दल र जनताले २०८४ सालमा मात्रै निर्वाचन चाहेको भए पनि विशेष परिस्थितिका कारण अहिले नै चुनावमा जानुपर्ने बाध्यता आइलागेको बताए ।
उनले वर्तमान निर्वाचनलाई सामान्य हारजितको प्रतिस्पर्धा मात्र नभई राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने असाधारण अवसरका रूपमा व्याख्या गरेका छन् । भदौ २३ र २४ गतेका घटनाक्रमलाई स्मरण गर्दै उनले भने, ‘त्यसबेलाको उद्देश्य केवल जलाउने र लुट्ने मात्र थिएन । राष्ट्रपतिलाई हटाएर कठपुतली सरकार बनाउने र नेपाललाई युक्रेनजस्तै द्वन्द्वग्रस्त बनाउने गुरुयोजना थियो ।’ उक्त संकटपूर्ण घडीमा आफू र सहसंयोजक माधव नेपालले सुझबुझपूर्ण पहलकदमी लिएर देशलाई दुर्घटनाबाट जोगाएको उनको दाबी छ ।
भदौका ती घटनाक्रमले संविधानलाई केही हदसम्म घाइते बनाएको उल्लेख गर्दै दाहालले अब यसको उपचार र रक्षा गर्ने जिम्मेवारी राष्ट्रवादी शक्तिको काँधमा आएको बताएका छन् ।
उनले भने, ‘यो निर्वाचन विदेशी शक्तिको इसारामा देशलाई अस्थिर बनाउन खोज्ने र राष्ट्रवादी शक्ति बलियो बनाउन चाहनेहरू बीचको लडाइँ हो ।’