काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले ३१औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना दिँदै जनयुद्धका स्मृति ताजा भएको बताएका छन् ।
उनले भने, ‘यसवर्षको जनयुद्ध दिवस मेरो लागि विशेष छ । रुकुम पूर्वमा आएर जनयुद्ध मनाउँदै गर्दा जनयुद्धका ती सबै स्मरण ताजा भएर आएका छन्, जनयुद्धमा यहाँका जनताको उत्प्रेरणाबाट नै हामीले ऊर्जा पाएका थियौँ ।’ उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरिब, महिला तथा आदिवासी जनजातिको योगदान निर्णायक रहेको उल्लेख गरेका छन् ।
उनले भावुक हुँदै भने, ‘यहाँका गरिब, महिला, आदिवासी जनजातिले रगत नबगाएको भए हामी आज समावेशी र समानुपातिक गणतन्त्रमा हुने थिएनौँ, म यहाँ आउँदा अलिकति भावुक र उल्लेखित भएको छु । जनयुद्धको जस्तै उत्प्रेरणा र नयाँ ऊर्जासहित अब अघि बढ्ने छौँ ।’ संयोजक प्रचण्डले राष्ट्रको वर्तमान परिस्थिति चुनौतीपूर्ण रहेको उल्लेख गरेका छन् ।
उनले २०८४ सालमा गर्ने भनिएको निर्वाचन २०८२ मै गर्नुपर्ने अवस्था सिर्जना भएको बताउँदै देश कठिन मोडबाट अगाडि बढेको बताएका छन् । उनले भने, ‘यस्तो संकटको घडीमा इतिहासका ती प्रेरणाबाट शिक्षा लिँदै फेरि राष्ट्र र राष्ट्रियताको पक्षमा अघि बढ्नुपर्छ, समाजवादको नयाँ यात्रा सुरु गर्ने संकल्पका रूपमा मैले यो अवसरलाई लिएको छु ।’
उनले जनयुद्धकालीन संकल्प र दृढतासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्ने अभियान सञ्चालन गरिने बताएका छन् ।