काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राम्रो नेतृत्व चयन नभए देशले फेरि दुःख पाउने बताएका छन् ।
शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको कार्यक्रममा बोल्दै पार्टी सभापति लामिछानेले यसपटक जनतासामु सक्षम र इमानदार नेतृत्व छान्ने महत्वपूर्ण अवसर रहेको बताएका छन् । उनले विगतका कमजोरीबाट पाठ सिक्दै सही प्रतिनिधि चयन गर्न सबै मतदाताले गम्भीर बन्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
उनले भने, ‘अब पनि गलत नेतृत्व रोजियो भने फेरि पछुताउनुपर्छ, देश र भावी पुस्ताको भविष्यका लागि सचेत निर्णय आवश्यक छ ।’ प्रतिनिधि सभा निर्वाचनलाई लामिछानेले महाभारतको युद्ध भएको दाबी गरेका छन् । कौरव पक्षमा बस्ने कि पाण्डव पक्षमा बस्ने भन्ने धारणा बनाउन आग्रह गरे । उनले भने, ‘तपाईँहरू कौरव पट्टि बस्ने कि पाण्डव पट्टि बस्ने, छुट्याउनुपर्छ ।’
उनले वर्तमान राजनीतिक अवस्था, सुशासन र नैतिकताको प्रश्नलाई महाभारतको प्रसंगसँग जोड्दै सत्य र न्यायको पक्षमा उभिन नागरिकलाई आह्वान गरेका छन् । लामिछानेले भ्रष्टाचार, बेथिति र शक्तिको दुरुपयोगविरुद्ध आफूहरू संघर्षरत रहेको बताए ।
लामिछाने रिडीदेखि तम्घाससम्म विभिन्न स्थानमा राखिएका कार्यक्रममा भेटघाट अर्न्तक्रिया गरेर अर्घाखाँची तर्फ लागेका छन् ।