काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा चुनावी सभा गर्दै छ।
कांग्रेसको मधेस प्रदेश कार्यसमितिको आयोजनामा हुने सभाबाटै कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम पनि छ। कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार जनकपुरमा आज हुने सभामार्फत पार्टीले प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको हो।
जनकपुरमा हुने सभामा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत कांग्रेसका केन्द्रीय तहका प्रमुख नेताले सम्बोधन गर्ने कार्यक्रम छ।
मंगलबार पत्रकार सम्मेलन गरी कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले सभामा आठै जिल्लाबाट व्यापक सहभागिता हुने बताए।
‘हामीले प्रत्येक जिल्लामा संगठनात्मक संरचना सक्रिय पारेर कम्तीमा एक लाख जनसहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेका छौँ,’ यादवले पत्रकार सम्मेलनमा भने, ‘यो सभा मधेसमा कांग्रेसको शक्ति प्रदर्शन मात्र होइन, आगामी निर्वाचनको आधार तयार गर्ने ऐतिहासिक कार्यक्रम हुनेछ।’