बुधवार, आश्विन १४ गते २०८३
एमाले नेतालाई प्रधानमन्त्री कार्कीले सुनाईन् अटल विहारी र इन्दिरा गान्धीको कथा

‘निर्वाचनमा हार जित भईरहन्छ, एकपटकको जनादेशबाट बिचलित नहुनुस् ।’

मंगलवार , चैत्र ३, २०८२

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान भएको दुई सातापछि प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेतृत्वलाई बालुवाटार बोलाएर छलफल गरेकी छन् । 

पार्टी अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहेका कारण प्रधानमन्त्रीको आमन्त्रण स्वीकार गर्दै एमालेका नेतात्रय ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार पुगेका थिए । सो अवसरमा  प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गरेकोमा नेकपा एमालेलाई धन्यवाद दिएकी थिईन् । 

धन्यवाद ज्ञापन गर्न एमाले नेतृत्वलाई बालुवाटार आमन्त्रण गरिएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री कार्कीले भनिन्, ’यो कठिन अवस्थालाई शान्तिपूर्ण रुपमा निकास दिने एक मात्र विकल्प निर्वाचन नै थियो। राष्ट्रप्रतिको जिम्मेवारी सम्झेर यहाँहरुले जुन सहयोगी भूमिका खेलिदिनुभयो र निर्वाचनमा सक्रिय सहभागिता जनाइदिनुभयो, यसका लागि मुरीमुरी धन्यवाद दिन चाहन्छु ।’

निर्वाचनमा जित–हार भइरहने भएकाले एकपटकको जनादेशबाट विचलित नहुन भन्दै प्रधानमन्त्री कार्कीले एमाले नेतृत्वलाई शान्त्वना दिईन् ।  कार्कीले भनिन्, ’एकैपटकको जनमतले सधैँका लागि पार्टीहरुको हैसियत निर्धारण गर्दैन। भारतमा अटलविहारी बाजपेयी र इन्दिरा गान्धीका पालामा उहाँहरुका पार्टीले बेहोरेको उतारचढाव पनि देखेकै छौँ । राजनीति निरन्तरको अभियान भएकाले देश र जनताका मुद्दा बोकेर लागिरहनुहोस ।’

एमाले नेताहरुले पनि सबै पक्षको चित्त बुझाउँदै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री कार्की र उनी नेतृत्वको सरकारलाई बधाई दिनुभयो। मुलुकलाई कठिन घडीमा नेतृत्व प्रदान गरी सर्वस्वीकार्य, शान्तिपूर्ण र लोकतान्त्रिक निकास दिएकामा धन्यवाद दिए । 

यसअघि प्रधानमन्त्री कार्की आइतबार पितृशोकमा रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उहाँको गुन्डुस्थित निवासमै पुगेकी थिईन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार