काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछाम जिल्लाको ढकारी गाउँपालिकामा फिल्म निर्माणका नाममा सार्वजनिक बजेट दुरुपयोग भएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद तथा आरजे ट्वान्टी फोर मिडिया प्रालि र नव इन्रेणी फाउण्डेसनका अध्यक्ष रामजी लम्सालसमेतको मिलेमतोमा अनियमितता गरिएको दाबी गरेको छ ।
अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउदविरुद्ध सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको हो।
सोही प्रकरणमा आर।जे। ट्वान्टी फोर न्युज एवं नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल) लाई पनि प्रतिवादी बनाइएको छ।
आयोगका अनुसार, राजेश हमालको नाम जोडेर व्यक्तिगत निर्देशनसमेत भई चलचित्र निर्माण गर्ने भन्दै १५ लाख रुपैयाँ बजेट छुट्याइएको थियो भने मध्यमध्ये १२ लाख ७७ हजार दुई सय ५० रुपैयाँ भुक्तानी गरिएको थियो । तर, उक्त कार्यमा सार्वजनिक खरिद ऐन र नियमावलीको गम्भीर उल्लङ्घन गरिएको पाइएको अख्तियारको ठहर छ।
बिना प्रतिस्पर्धा र प्रक्रिया मिचेर सोझै खरिद सम्झौता गरिएको, कानुनी सीमाभन्दा बढी ३५ प्रतिशतसम्म पेस्की दिइएको र बैंक ग्यारेन्टीसमेत नलिई रकम भुक्तानी गरिएको अनुसन्धानमा खुलेको अख्तियार प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।