बुधवार, आश्विन १४ गते २०८३

निर्वाचन सफल पारेकोमा मधेश पुगेर धन्यवाद दिईन् प्रधानमन्त्री कार्कीले

शुक्रवार , चैत्र ६, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सुरक्षा निकायका पदाधिकारी, कर्मचारी तथा सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गर्न कर्णाली हुँदै मधेस पुगेकी छन् । 

प्रधानमन्त्री कार्कीले बिहीबार मुगुको रारा हुँदै जुम्लाको खलंगा पुगेर निर्वाचन सम्बद्ध सरकारी अधिकारी तथा स्थानीयसँग अन्तक्र्रिया गरेकी थिईन् ।

शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेत, मधेस प्रदेशको राजधानी जनकपुर र महोत्तरीको गौशालामा आयोजित कार्यक्रममा कार्कीले चुनौतीपूर्ण परिस्थितिका बाबजुद निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन खटिएका सुरक्षा अधिकारी, प्रशासनिक कर्मचारी तथा सरोकारवाला निकायहरूको योगदानको उच्च प्रशंसा गरिन् ।

pm 2.jpg
जनकपुरमा सुरक्षा निकायका प्रमुख लगायतसँग छलफल गर्दै प्रधानमन्त्री कार्की ।

प्रधानमन्त्री कार्कीले सुरक्षा निकायका प्रमुख तथा निर्वाचन व्यवस्थापनमा संलग्न अधिकारीहरूलाई बधाई दिँदै उनीहरुको समर्पण, जिम्मेवारी र व्यावसायिकताप्रति कृतज्ञता व्यक्त गरिन् ।

कार्कीले भनिन्, “हामीले बनाएको योजना अनुसार तपाईंहरूले उत्कृष्ट रूपमा कार्यान्वयन गर्नुभयो। हामीले लिएको सङ्कल्पलाई तपाईंहरूले सफलतापूर्वक पूरा गरिदिनुभयो। यसका लागि म आभारी छु । मान्छेहरू मलाई बधाई भनिरहेका छन्। यसको वास्तविक हकदार तपाईंहरू हो ।”

कार्यक्रममा सुरक्षा निकायका अधिकारीहरूले पनि यस्तो महत्वपूर्ण राष्ट्रिय जिम्मेवारी वहन गर्न पाएकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री कार्कीजस्तो नेतृत्वसँग काम गर्न पाउनु गर्वको विषय भएको बताए । प्रधानमन्त्री कार्कीले निर्वाचनअघि पनि देशका विभिन्न भागमा पुगेर निर्वाचनमा खटिने जनशक्तिलाई हौसला प्रदान गरेकी थिईन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार