काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुधारका लागि पार्टीका नेता सुरेन्द्र पाण्डेले विभिन्न प्रस्ताव अघि सारेका छन् । प्रतिनिधि सभा निर्वाचनमा सत्यानास भएपछि के अब एमाले पहिलेकै लयमा फर्किन्छ त ? भन्ने विषयमा वहस भइरहेको बेला पाण्डेले यस्तो प्रस्ताव अघि सारेका हुन् ।
पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत एमाले अझ आधुनिक र शक्तिशाली भएर उदाउन सक्ने विषयमा आफू विश्वस्त रहेको बताएका छन् । तर यसका लागि हामीले ’इतिहासको ब्याज’ मा होइन, ’भविष्यको लगानी’ मा ध्यान दिनुपर्ने पाण्डेको भनाई छ ।
उनका अनुसार अबको एमाले केवल राजनीतिक शक्ति मात्र होइन, देशका जटिल समस्या समाधान गर्ने ’विज्ञता र प्रविधि’ सहितको एउटा गतिशील संस्था बन्नुपर्छ। अबको एमाले बचाउन तीनवटा मुख्य क्षेत्रमा तत्काल काम गर्नुपर्नेछ ।
पहिलो, विज्ञतामा आधारित राजनीतिः अब पार्टीले केवल भाषण होइन, विषयविज्ञ र अर्थशास्त्रीहरूसँगको सहकार्यमा देशको आर्थिक संकट समाधान गर्ने ’प्राविधिक रोडम्याप’ तयार गर्नुपर्छ ।
दोस्रो, डिजिटल मेरिटोक्रेसीः व्यक्तिगत पहुँचका आधारमा जिम्मेवारी दिने प्रथा अन्त्य गर्न आधुनिक प्रविधि र पारदर्शी ’इभ्यालुएसन फ्रेमवर्क’ लागू गर्नुपर्छ, जसले हरेक कार्यकर्ताको क्षमता र योगदानको निष्पक्ष मापन गरोस् ।
तेस्रो, संरचित पुस्तान्तरणः नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन र अनुभवीहरूको ज्ञान उपयोग गर्न ’को–लिडरसिप र मेन्टरसिप’ को वैज्ञानिक मोडल सुरु गर्नुपर्छ ।