काठमाडौं । प्रतिनिधि सभा सदस्यको बैठक १८ वर्षपछि सिंहदरबार भित्र बस्ने भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ बाट निर्वाचित संसदका सदस्यहरुको लागि सिंह दरबारभित्र सुविध सम्पन्न भवन बनिरहेको छ ।
तर भवनको सम्पूर्ण काम नसकिएका कारण तत्कालका लागि बैठक बस्न सोही भवनभित्र बैकल्पिक व्यवस्था गरिनेछ । निर्माणाधिन संसद भवन तयार नभएपनि बैकल्पिक व्यवस्था गरेर नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको शपथ तथा संसद् अधिवेशन सञ्चालनका लागि सभाकक्षलगायतको सबै तयारी पूरा भएको छ ।
तत्कालका लागि नयाँ संसद् भवनभित्रको बहुउद्देश्यीय कक्षभित्र सांसदको शपथग्रहण तथा संसद् अधिवेशन सञ्चालन गर्न लागिएको हो । संसद् बैठक बस्ने मुख्य सभाकक्ष निर्माण हुन अझै समय लाग्ने भएकाले केही समयका लागि यो सभाकक्ष प्रयोग गर्न लागिएको हो ।
२०६४ सालसम्म संसद्को बैठक सिंहदरबारस्थित पुतली बगँैचामा रहेको भवनमा बस्दै आएको थियो । संविधान सभा सदस्यको सङ्ख्या बढेपछि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद्को बैठक बस्दै आएको थियो ।
जेनजी समूहको नाममा गत भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटबाट नयाँ बानेश्वरस्थित संसद् भवन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकको सभाकक्षको अभाव भएको हो । नयाँ बानेश्वरको भवनको भाडाबापत संसद् सचिवालयले वार्षिक १० करोड ५८ लाख रुपियाँ बुझाउँदै आएको छ ।
संसद बैठकको लागि तयार गरिएको बहुउद्देश्यीय सभाकक्षमा अहिले कुर्सीको व्यवस्थापन सम्पन्न भइसकेको छ भने माइक, क्यामेरालगायत मिलाउने काम तीव्र गतिमा भइरहेको छ । सांसदको शपथ चैत १२ गते गराउने योजना अनुसार अस्थायी रूपमा नयाँ सभाकक्ष निर्माण गरिएको हो । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
करिब पाँच अर्ब रुपैंया लागतमा सिंहदबारपरिसरमा संसद्को नयाँ भवन निर्माण भइरहेको छ । भवनको ठेक्का नेपाली निर्माण कम्पनी टुण्डी र चिनियाँ निर्माण कम्पनी सेक (संयुक्त) ले पाएका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते शिलान्यास गरेको यो आयोजना तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी २०७६ असोज १६ गते निर्माण व्यवसायीसँग सम्झौता भएको थियो ।
सम्झौता भएको छ वर्ष बितिसक्दासम्म पनि काम सम्पन्न हुन सकेको छैन । संसद् भवन निर्माण आयोजनाको अहिलेसम्मको समग्र भौतिक प्रगति ९३ प्रतिशत र आर्थिक प्रगति ७८ प्रतिशत पुगेको छ ।