आइतवार, श्रावण २४ गते २०८३

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

सोमवार , चैत्र ३०, २०८२

नारायणगढ। भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि कुरिलो खेती गर्दै आएको छ । आश्रमका व्यवस्थापक तारानाथ पौडेलका अनुसार आश्रमअन्तर्गत सञ्चालित पशु तथा कृषि फार्ममार्फत कुरिलो, अम्बा, भुइँकटहरलगायत बाली पूर्ण रूपमा प्राङ्गारिक तरिकाले उत्पादन गरिँदै आइएको हो ।

आश्रम सञ्चालनका लागि सामूहिक प्रयासस्वरूप १८ वर्षका लागि वार्षिक रु ७२ हजारमा जमिन भाडामा लिएर खेती गरिएको छ । सो जमिनमध्ये १५ कट्ठामा कुरिलो खेती गरिएको उनले जानकारी दिए । यसबाट आएको आम्दानीले आश्रम सञ्चालनमा आर्थिक सहयोग पुगेको उहाँको भनाइ छ ।

प्राङ्गारिक उत्पादन भएकाले बिक्रीका लागि बजार खोज्न नपर्ने र फार्म तथा आश्रमबाटै सहज रूपमा बिक्री हुने गरेको उनले बताए ।“प्राङ्गारिक उत्पादन भएकाले खर्च बढी लाग्ने भए पनि यसको माग राम्रो छ,” व्यवस्थापक पौडेलले भने ।

कुरिलो औषधीय गुणयुक्त बाली भएकाले यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ । यसमा कुनै पनि रासायनिक मल तथा विषादी प्रयोग नगरिएको र गाईको गोबर तथा गौमूत्रबाट तयार गरिएको मल प्रयोग गरिँदै आएको छ । 

“विषादी प्रयोग गर्दा खेती सजिलो हुन्छ तर हामीले पूर्ण रूपमा प्राङ्गारिक विधि अपनाएकाले उत्पादन केही कम हुन्छ,” उनले भने । कुरिलो खेतीमा करिब  आठ लाख लगानी गरिएको छ । उत्पादनबाट आएको आम्दानीले खर्च कटाएर आश्रम सञ्चालनमा सहयोग पुगिरहेको पौडेलले बताए ।  

याम अनुसार कुरिलोको मूल्य प्रतिकिलो  ५०० देखि एक हजार २०० सम्म पर्ने गरेको छ भने याममा दैनिक करिब २० केजीसम्म बिक्री हुने गरेको छ । यसका साथै सिजनका अन्य तरकारीहरु पनि लगाइँदै आएको उनको भनाइ छ । 

व्यवस्थापक पौडेलका अनुसार कुरिलोको मुख्य सिजन चैत, वैशाख र जेठ महिना रहेको छ । यहाँ यो बाली चार वर्षदेखि उत्पादन हुँदै आएको र उचित हेरचाह गरेमा १०–१२ वर्षसम्म उत्पादन दिन सक्ने उनले जानकारी दिए  । 

प्राङ्गारिक खेती गर्दा रोग, कीरा तथा झारको समस्या बढी हुने उल्लेख गर्दै उहाँले बेला–बेलामा कृषि विकास कार्यालय चितवनका प्राविधिक सहयोगमा खेतीलाई अझ व्यवस्थित बनाउँदै आएको बताए । कुरिलो रोपेको करिब ६ महिनापछि उत्पादन लिन सुरु गर्न सकिन्छ । यसको बीउ बजारमा सजिलै पाइन्छ भने माघ, फागुन र चैत महिना रोपाइँका लागि उपयुक्त मानिन्छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार